इजरायलमा मारिएका चार नेपालीको शव दशैँको अष्टमीमा नेपाल आइपुग्ने

काठमाडौं : इजरायलमा ज्यान गुमाएका चार जना नेपाली विद्यार्थीको शव आइतबार बिहान काठमाडौँ आइपुग्ने भएको छ।
तेल अबिबस्थित नेपाली दूतावासले पहिचान भएका चार विद्यार्थीको शव शनिवार नेपाल पठाउने जानकारी दिएको हो। ती शवहरू आइतबार बिहान नेपाल आइपुग्ने छ।
इजरायलमा मारिएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेशराज विष्ट र आशिष् चौधरीको शव प्राप्त भएको राजदूतावासले जनाएको छ। उनीहरूमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष् चौधरीको शव नेपाल ल्याउन लागिएको हो।
हमास समूहको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो। तीमध्ये सबै कानुनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव शनिवार दिउस १ :२५ बजे फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको र शव कार्तिक ५ गते बिहान काठमाडौँ पुग्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बाँकी शव पहिचानको क्रममा रहेको दूतावासले जानकारी दिएको छ।
कात्तिक ३, २०८० शुक्रबार २३:५७:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।