ओपनिङमा छक्कापञ्जा-२ को रेकर्ड भत्काउने तयारीमा रहेको भष्मे डनले कबड्डी-४ लाई पछि पार्ला !

ओपनिङमा छक्कापञ्जा-२ को रेकर्ड भत्काउने तयारीमा रहेको भष्मे डनले कबड्डी-४ लाई पछि पार्ला !

काठमाडौँ : नेपाली फिल्ममा रिलिजको दिनको सबैभन्दा धेरै ग्रस कलेक्सन गर्न सफल फिल्मको पहिलो सूचीमा छ कबड्डी-४ । यसले रिलिज भएकै दिन दुई करोड ९० लाखको ग्रस कलेक्सन गरेको थियो।

२४ करोड हाराहारीको व्यापार गरेर यसले अर्को रेकर्ड समेत राखेको थियो। दोस्रो सूचीमा छ छक्कापञ्जा-२ जसले पहिलो दिनमै एक करोड ८० लाख ग्रस कलेक्सन गरेको थियो।

नेपालका हलहरूमा एक दिन पाँच सय शोसम्म फिल्म देखाउन सकिन्छ। फिल्म पशुपति प्रसाद-२ भष्मे डनका वितरक करण श्रेष्ठको दाबी अनुसार शनिवार रिलिजको पहिलो दिनमै तीन सय शो पाएको छ फिल्मले।

बिहान ६ बजेदेखिकै शो फुल हाउस रहेकाले फिल्मको ओपनिङ ग्रस कलेक्सन दुई करोड पक्का भइसकेको उनको दाबी छ।

'अहिलेसम्मको नतिजाबाटै रिलिज भएको पहिलो दिन २ करोडको ग्रस कलेक्सन हुने पक्कापक्की छ,' उनले उकेरासँग भने' बिहानी शोको बुकिङ उत्साहजनक छ।'

केसीकै दाबी अनुसार यसले कबड्डी-४ को ओपनिङ ग्रस कलेक्सनको रेकर्ड ब्रेक गर्न भष्मे डनलाई गाह्रो छ। तर यसले छक्कापञ्जा-२ को रेकर्ड भने ब्रेक गर्न सक्ने देखिन्छ। छक्कापञ्जाकै रेकर्ड ब्रेक गर्न सक्यो भने पनि भष्मे डनको टिमका लागि उत्साहजनक उपलब्धि हो।

पशुपति प्रसादले राम्रै प्रतिक्रिया पाए पनि व्यापारिक रूपमा भने फिल्मले निर्मातालाई उत्साह भर्न सकेको थिएन।

ओपनिङसँगै दर्शकमाझ फिल्मको प्रतिको चासो कायम राख्न र फिल्म हेरेका दर्शकले मन पराएमा पशुपतिप्रसादको व्यापारबाट निराश निर्माता यसको सिक्वेलबाट दङ्ग पर्न सक्छन्।

तर जसरी कबड्डी-४ हलमा प्रतिष्पर्धाहिन थियो भष्मे डनले त्यो मौका पाएन। पाएको शोको सङ्ख्यालाई निरन्तरता दिनु नै यसको सबैभन्दा ठुलो चुनौती हो।

गत साता रिलिज भएको परदेशी-२ हलमा कायमै छ। उसले पनि राम्रै शोहरु अकुपाइ गरिरहेकै छ। भष्मे डनको प्रचार अनुसारै दर्शकहरूले मन पराएमा परदेशी-२ को शोहरु घट्न सक्छन्। नत्र उल्टो भष्मे डनको शो घटेर परदेशी-२ को शो बढ्न सक्छ।

भष्मे डन रिलिज हुने दिन दक्षिण भारतीय फिल्म लियोको शो घटेको छ। समीक्षकहरूबाट यो फिल्मले राम्रै प्रतिक्रिया पाइरहेको छ। फिल्म रिलिजपछि क्रेज कायम रहन सकेन भने लियोको शोहरु बढ्न सक्छन्।

टाइगर श्रफको अभिनय रहेको गणपथले पनि राम्रै शोहरु पाएको छ। टाइगर श्रफको फ्यान फलोइगं पनि राम्रै छ नेपालमा।

यो बिचमा पनि ओपनिङको दिन भष्मे डनले तीन सय शोहरु पाउनु राम्रो उपलब्धि हो।  भष्मे डन टिमले फिल्मको प्रिमियर समेत नगरी एकै पटक रिलिज गर्दैछ।

दशैँ मनाउन १० लाख बढी उपत्यकावासी बाहिरिएर आ-आफ्नो घर पुगेका छन्। यसले काठमाडौँ उपत्यकामा भष्मे डनले केही दर्शक गुमाएको छ नै।

दशैँमा प्राय टिकाको दिनपछि मात्रै हलमा दर्शकहरू पुग्ने गरेका छन्। यो फूलपातीकै दिनमा रिलिज हुँदैछ। पहिलो दिनको अकुपेन्सी उत्साहजनक भए पनि अष्टमी र दशमीमा भने हलमा दर्शकको चाप कम हुनसक्छ।

एकादशीसम्म फिल्मले रिलिज अगाडिको हाइप कायम राख्न सक्यो भने बम्पर कलेक्सन हुनसक्छ। त्यसपछिका दिनमा हलले दिने शोहरु पनि बढ्न सक्छन्। दर्शकबाट सकारात्मक प्रतिक्रिया आएन भने परदेशी-२ लगायतका फिल्मको शोहरु बढ्न सक्छन्।

कात्तिक ३, २०८० शुक्रबार २२:०४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।