६ बाणिज्य बैङ्कका बैंकर राष्ट्र बैङ्कको कारबाहीमा, बढी ब्याज लिनेमा एनआइसि एसिया, कम ब्याज दिने नबिल
काठमाडौँ : ग्राहकसँग बढी ब्याज लिने, तोकिएको ब्याज नदिने र सम्पत्ति शुद्धिकरण सम्बन्धी नियम समेत नमान्ने नेपालका चर्चित ६ वटा वाणिज्य बैङ्क नेपाल राष्ट्र बैङ्कको कारबाहीमा परेका छन्। राष्ट्र बैङ्कले एनआइसी एसिया, नबिल, हिमालयन, एनएमबि, , लक्ष्मी सनराइज र सिटिजन्स बैंकलाई कारबाही गरेको हो। यी मध्ये दुईवटालाई जरिवाना समेत भएको छ।
राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागको अनुगमनमा कारबाहीयोग्य गतिविधि देखिएपछि बैंकका सञ्चालक समिति र सिइओलाई सचेत समेत गराएको छ।
राष्ट्र बैङ्कको अनुगमनमा एनआईसी एसिया बैङ्कले ग्राहकहरूसँग बढी ब्याज लिएको यस अगाडि नै पुष्टि भएपछि बढी लिएको ब्याज (रिक्स प्रिमियम) सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिएको थियो। तर बैङ्कले राष्ट्र बैङ्कको निर्देशन पालना गरेन।
निर्देशन विपरीत एनआइसी एसियाले ब्याज बढाएको देखिएपछि निर्देशन पालन गर्न भन्दै बैङ्कको सिइओ र सञ्चालक समितिलाई सचेत गराएको छ।
बैकले क्यापिटल एडुकेसी फ्रेम वर्क विपरीत कर्जाको जोखिम भार कम दिएर गलत रिपोर्टिङ गरेको राष्ट्र बैङ्कको अनुगमनमा खुलेको छ भने बैङ्कबाट जारी एकीकृत निर्देशन समेत उलङ्घन भएको देखिएको छ।
यस्तै नबिल बैङ्कले एकीकृत निर्देशन उल्लङ्घन गरी ब्याजदर बढाएको र नियमित ब्याज र पेनाल असुलीसँगै बैङ्कको क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिमभारित सम्पत्ति गणना नगरेर प्रिमियम बढाएकोमा कारबाहीमा परेको छ।
ऋणी ग्राहकहरूसँग त्रैमासिक रूपमा लोन एडमिस्टेशन फी लिने गरेको तथा संस्थागत मुद्दती निक्षेपमा ग्राहकहरूलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको भन्दै राष्ट्र बैङ्कले बैङ्क सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।
लक्ष्मी सनराइज बैङ्कले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेको भन्दै ७० लाख रुपैयाँ जरिवाना गराएको छ भने हिमालयन बैङ्कले वैशाख महिनामा कर्जा-निक्षेप अनुपात कायम नगरेको भन्दै १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ जरिवाना भएको छ।
एनएमबि बैङ्कले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको राष्ट्र बैङ्कको अनुगमनमा खुलेको छ।
बैकले कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पूर्ण रकम ऋणीबाट फिर्ता गराई राष्ट्र बैङ्कमा जम्मा गर्न समेत निर्देशन दिइएको छ। राष्ट्र बैङ्कले निर्देशनको उल्लङ्घन गरेको भन्दै बैङ्कका सीईओलाई सचेत समेत गराएको छ।
कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) उलंघन गरेको देखिएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ नगद जरीवाना गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को वैशाखमा सीडी रेसियो ९० प्रतिशत नाघेपछि कारवाही गरेको हो ।
सिटिजन्स बैंकलाई कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको तथा प्रिमियम दरमा निर्देशन विपरीत पटक पटक वृद्धि गरेको भन्दै सीईओलाई सचेत गराएको छ।
कात्तिक ३, २०८० शुक्रबार १९:२५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।