प्रदेश राजधानीमा राेक्का गरिएको जग्गा फुकुवा गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

प्रदेश राजधानीमा राेक्का गरिएको जग्गा फुकुवा गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

बुटवल : लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पूर्ण रूपमा जग्गा रोकेर राख्दा नागरिकको जनजीवनमा समेत असर पर्न थालेपछि जनताको हितको लागि केहि सर्त राखेर राजधानी क्षेत्रको जग्गा फुकुवा गरिएको बताए।

प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केहि वडा, अर्घाखाँचीको सितगंगा नगरपालिका र लमही नगरपालिकाका केहि वडामा गरिएको जग्गा रोक्कालाई कित्ता काट नहुने र यथा अवस्थामा विक्रि वितरणको लागि फुकुवा गर्ने निर्णय गरेको हो।

सरकारका गृह मन्त्री तथा प्रवक्ता सन्तोष कुमार पाण्डेयले सरकारले राजधानी क्षेत्रमा रोक्का भएको जग्गा सरकारले फुकुवा गरेको बताए।

शुक्रबार मुख्यमन्त्री कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेयले सरकारको व्यवस्थित राजधानी निर्माणको अवधारणलाई असर नगर्ने, र टुक्राएर बेच्न नपाउने सर्तमा रोक्का जग्गा फुकुवा गर्ने निर्णय भएको जानकारी दिए।

स्थानीयको जनजीविका सहज गराउ र नागरिकका समस्या समाधानका लागि सरकारले यो निर्णय गरेको पाण्डेयको भनाइ छ।

तीन वर्षअघि राजधानी कार्यान्वयनका लागि भन्दै शंकर पोख्रेल नेतृत्वको सरकारले राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यकाको जग्गा विक्रि वितरण र खण्डीकरणमा रोक लगाएको थियो।

कात्तिक ३, २०८० शुक्रबार १४:२०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।