यसकारण वैज्ञानिक छ चाडपर्वका भोजन संस्कृति

यसकारण वैज्ञानिक छ चाडपर्वका भोजन संस्कृति

खानपान तथा जीवनशैलीका पद्धतिहरू आयुर्वेदिक चिकित्सा विज्ञानसँग सम्बन्धित छन् भन्ने विषयमा विभिन्न चिकित्सकहरूले जोड दिएका छन्। किनकी नेपालमा मनाइने धर्म, संस्कार र संस्कृतिको सम्बन्ध वैदिक सनातनसँग सम्बन्धित छ।

विज्ञहरूका अनुसार आधुनिक चिकित्सा विधि किटाणुसँग सम्बन्धित छ र ती कीटाणुलाई नष्ट गर्नु नै त्यसको निदान तथा चिकित्सा हो भन्ने गरिन्छ।

तर, आयुर्वेदिक चिकित्सा पद्धतिमा रोग कै उत्पत्ति हुन नदिने विधिलाई प्रधानता दिएको देखिन्छ। त्यही कारणले गर्दा आयुर्वेद चिकित्सा पद्धतिमा ऋतुचर्या र दिनचर्यालाई धेरै महत्व दिइएको पाइन्छ।

त्रिदोष र तीन उपस्तम्भ
आयुर्वेदमा विशेषगरी त्रिदोषको चिकित्सा गरिन्छ। आयुर्वेद चिकित्सा पद्धतिअनुसार त्रिदोष (वात, पित्त र कफ)को साम्यवस्था नै निरोगिता हो भने यी तीन दोषमध्ये कुनै एकको अधिकता वा न्यूनताका कारण रोग लाग्छ भन्ने मान्यता छ।

यी त्रिदोषको साम्यताका लागि आयुर्वेद चिकित्सा पद्धतिमा जोड दिएको देखिन्छ। त्रिदोषलाई ध्यानमा राखेर वर्षभरि मनाउने चाडपर्वमा खानपानको व्यवस्था गरिएको छ।

वास्तवमा नेपालमा मनाइने विभिन्न चाडपर्व र चाडपर्वमा गरिने खानपान संस्कृति वैज्ञानिक देखिन्छन्। खानपानको विषयमा आयुर्वेदमा राम्रो व्याख्या र विश्लेषण गरिएको छ। तर, विस्तारै शहरीकरणको विकास तथा आधुनिक विकाससँगै आयुर्वेदमा उल्लेख भए जसरी खानपान तथा जीवनशैली व्यवस्थित हुन नसक्दा व्यक्तिमा अस्वस्थता बढ्दै गएको सहजै अनुमान लगाउन सकिन्छ।

आयुर्वेदमा आहार, निद्रा र ब्रह्मचर्य गरी स्वास्थ्यका तीन उपस्तम्भका बारेमा उल्लेख गरिएको छ।

व्यक्तिका स्वास्थ्यका लागि यी तीन उपस्तम्भ ओदानका तीन खुट्टा समान नै मानिन्छ। यीमध्ये कुनै एउटा खुट्टा नभए ओदान जतिबेला पनि ढल्ने जोखिम हुन्छ। व्यक्तिको स्वास्थ्यका लागि पनि यी तीन उपस्तम्भ मध्ये कुनै एकको अभावमा जतिखेर पनि शरीर ढल्नसक्छ।

आहार उपस्तम्भ अन्तर्गत विशेषगरी वायु, जल र भोजन् पर्छन्। वायु, जल र भोजनमध्ये कुनै एउटा तत्वको अभाव भएको खण्डमा जीवन नै असम्भव हुन्छ। वायु र जल त प्रकृतिको कृपाले सजिलैसँग प्राप्त हुन्छ। भोजनको लागि व्यक्तिले नै संघर्ष गर्नुपर्छ।

त्यसो त कस्तो किसिमको भोजन मानव स्वास्थ्यका लागि लाभदायक हुन्छ, कस्तो किसिमको भोजनले मानव स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने जस्ता विषयका बारेमा आयुर्वेदमा विस्तृतमा वर्णन गरिएको छ।

आयुर्वेदमा शरीर स्वस्थ राख्न जठराग्नि (खाएको पचाउने आन्द्रामा हुने अग्नि)को कामलाई विशेष जोड दिइएको छ। हामीले जति स्वस्थकर तथा पौष्टिक खानपान गरे पनि जठराग्नि अर्थात खाना पचाउने काम गर्ने अग्नि कमजोर भएको खण्डमा खाएको खाना राम्रोसँग पच्दैन।

खाना पचाउने काम गर्ने अग्निले राम्रोसँग काम नगरी खाना राम्रो नपचेको खण्डमा शरीरमा धेरै किसिमको रोग लाग्ने जोखिम बढ्दै जान्छ। तर, व्यक्तिको असन्तुलित तथा अस्वस्थकर खानपानका कारण पाचनजन्य समस्या निम्तने जोखिम हुन्छ।

जथाभावी असन्तुलित रूपमा गरिने खानपानका कारण खाना पचाउने अग्निको काम गर्ने क्षमता पनि कमजोर हुन पुग्छ। जसले गर्दा व्यक्ति अस्वस्थ हुन पुग्छ।

आयुर्वेद चिकित्सकीय विधामा विशेषगरि पेटमा हुने रोगलाई नै रोग लाग्ने मुख्य कारक मानिएको छ। त्यसैले अग्नि सही भए रोग लाग्ने सम्भावना कम हुने तर अग्नि नै विकृत भएको खण्डमा भने रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ। त्यसैले आचार्य चरकले ‘देहो आहारसंभवः’ अर्थात् शरीर आहारबाट नै सम्भव छ भन्ने व्याख्या गरेका छन्।

विभिन्न शास्त्रहरूमा समेत ‘अन्न प्राणिनां प्राणः’ अर्थात् आहार नै  प्राणी मात्रको प्राण हो भन्ने व्याख्या गरिएको पाइन्छ। व्यक्तिले खाएको खानाले विशेषगरी तृप्ति प्राप्ति, शरीरको क्षीणता पूर्ति र शारीरिक संवर्धन गरी तीन किसिमको काम गर्छ।

भोक लागेर गरेको भोजन संतुष्टिदायक (तृप्तिकारक) हुन्छ। शरीरमा भएका कोशीकाहरू निरन्तर नष्ट भइरहेका हुन्छन्। सामान्यतया सात वर्षको अन्तरमा व्यक्तिको शरीरको सम्पूर्ण कोषहरू बदलिन्छन्।

नष्ट भएका शारीरिक कोशिकाहरू व्यक्तिले खाने खानपानबाटै पुन उत्पादित भई पूर्ति हुन्छ। जसले गर्दा व्यक्ति शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन सक्छ।

तीन किसिमको खानपानको विज्ञान
आयुर्वेदमा आहार शुद्धिमा निक्कै ध्यान दिइएको छ। आहार शुद्धि आहार स्वच्छतासँग जोडिएको हुन्छ। स्वच्छ आहारले व्यक्तिलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउँछ। आहार शुद्धिको अर्को अर्थ आहारको पवित्रता पनि हो।

भनिन्छ- ‘आहार शुद्धौ सत्वशुद्धि।’ यसको अर्थ हुन्छ,– यदि आहार शुद्ध(पवित्र) भएको खण्डमा मन पनि पवित्र हुन्छ।

प्रकृतिमा सत, रज र तम गुण भए जसरी नै व्यक्तिले गर्ने भोजनलाई पनि सात्विक, राजसिक, तामसिक गरी तीन प्रकारका गुणमा वर्गीकरण गरिएको छ।

बुद्धि, बल, आरोग्य, सुख र प्रीति बढाउने किसिमका भोजन सात्विक भोजन हुन् भन्ने विषय विभिन्न तथ्यहरूले देखाउँछ। यस्तो भोजन मनलाई प्रिय लाग्ने किसिमका हुन्छन्।

ताजा किसिमका, सुपाच्य र हल्का किसिमका भोजनहरू सात्विक भोजनमा पर्छन्। जस्तैः गेडागुडी, ताजा साजगब्जी, फलफूल। सात्विक भोजनले शरीरलाई स्वस्थ राख्न तथा मन शान्त राख्न विशेष भूमिका खेल्छ।

दुःख, चिन्ता तथा रोग उत्पन्न गराउने किसिमको भोजन राजसी भोजन हुन्छ। सामान्यतया मनको तृप्ति तथा जिब्रोको स्वादका लागि गरिने भोजनलाई राजसी भोजन भनिन्छ।

अत्यधिक चिल्लो, पिरो, अमिलो मसलेदार र बढी सुख्खा प्रकृतिका खानपान राजसी भोजन अन्तर्गत पर्छन्। यस्ता राजसी भोजनले शरीरमा क्षणिक रूपमा ऊर्जा प्रदान गर्छ।

राजसी प्रकृतिका भोजन तुलनात्मक रूपमा स्वादिला पनि हुने भएकाले शरीरले धान्ने भन्दा बढी खानपान गर्ने सम्भावना समेत हुन्छ। जसले अस्वस्थता निम्त्याउने जोखिम हुन्छ।

आधुनिक सन्तुलित आहार 
आधुनिक आहार विज्ञानका अनुसार जुन आहारमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, खनिज, भिटामिन जस्ता सबै किसिमका पौष्टिक तत्व पाइन्छ त्यस्तो आहारलाई सन्तुलित आहार भनिन्छ। यस्ता खानपान व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य तथा वृद्धि विकासका लागि लाभदायक हुन्छन्।

सन्तुलित आहारमा पानी र फाइबरको मात्रा समेत प्रसस्त आवश्यक हुन्छ। घिरौँला, सीमी, लौका, चिचिण्डा, फर्सी तथा स्कुसका मुन्टा जस्ता सागजसब्जीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। यस्ता फाइबरयुक्त खानपानले कब्जियत, पायल्स जस्ता समस्याबाट बच्न सहज हुनुका साथै विभिन्न पौष्टिक तत्व पाइन्छ।

आयुर्वेद अनुसार षठरसयुक्त आहार सन्तुलित आहार हुन्छ। सही र सन्तुलित रूपमा खानपान गरे औषधिको काम गर्छ भने असन्तुलित र गलत तरिकाले खानपान गर्दा त्यस्तो खानपानले विष सरहको काम गर्छ भन्ने विषयलाई हामीले भुल्नु हुँदैन।

चाडपर्वका वैज्ञानिक खानपान
अब विभिन्न चाडपर्वमा गरिने खानपानको विषयमा केही चर्चा गरौँ। हिन्दू परम्पराअनुसार नेपालमा मनाइने विभिन्न चाडपर्वमा खाइने खानपान स्वास्थ्यको दृष्टिले समेत वैज्ञानिक देखिन्छन्।

नेपालमा विभिन्न मौसममा विभिन्न चाडपर्व मनाइने अनि ती चाडपर्वमा मौसम अनुसार खानपान गर्ने संस्कृति तथा परम्परा छ, जुन स्वास्थ्यका दृष्टिकोणले वैज्ञानिक र लाभदायक छन् भन्ने पुष्टि नै हुन्छ।

वैशाख महिनामा पर्ने अक्षय तृतीयामा जौको सातु र सख्खरको सर्वत खाइन्छ। सर्वतमा मरिच, ल्वाङ, दालचिनी र सुकमेल पनि मिसाइन्छ। यसलाई पोषिलो तथा स्वास्थ्यवर्द्धक पेयको रूपमा प्रयोग गर्न सकिन्छ।

यसमा स्वस्थ कार्बोहाइड्रेटका अतिरिक्त विभिन्न प्रकारका फलाम, माग्नेसियम, क्याल्सियम, जिंक, फोस्फोरस लगाएतका खनिजहरु तथा पोषक तत्वहरू पाइन्छन्।

रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा मांसपेशी स्वस्थ राख्न यस्ता खानपान मौसमअनुसार लाभदायक हुन्छन्। यस्ता सम्मिश्रण सहितका खानपानले शरीरमा अम्ल-क्षार-खनिज-पानी सन्तुलन राख्न अति उपयोगी हुन्छ।

जेठ महिनामा पर्ने सिठी नखः अर्थात् कुमार षष्ठीमा नेवारी समुदायले बारा र चटामरी खाएर मनाउने चलन छ। चटामरी चामलको पिठोबाट र बारा मास, मुंग वा सानो केराऊबाट बनाइन्छ। यसलाई घ्यू वा तेलमा पकाइन्छ। त्यसैले यो खाना सन्तुलित हुन्छ।

सिठी नखः पर्वमा प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, पोटासियम, फलाम, भिटामिन बि-६, तामा, फाइबर जस्ता पौष्टिक तत्व प्रशस्त पाइन्छ। यस्ता खानपानमा क्यान्सर प्रतिरोधी गुण हुन्छन्। यसरी चाडपर्वमा खाइने खानपानले व्यक्तिको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। मधुमेह, पार्किन्सन र मुटुमा विभिन्न किसिमका रोग लाग्नबाट बचाउन मद्दत मिल्छ।

असारमा तुलसी रोपिन्छ। यो स्वास, कास, ज्वरमा उपयोगी हुन्छ। असार १५ मा दहीच्यूरा खाने चलन छ। दहीले पाचन शक्ति बढाउँछ। यसमा शरीरलाई आवश्यक उपयोगी ब्याक्टेरिया हुने भएकोले प्रोबायोटिक्सको रूपमा काम गर्छ, जसले गर्दा एन्टीबायोटिक्सको असर कम गर्न सहयोग गर्छ। दहीमा प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, खनिज, पोटासियम, भिटामिन बि, बि-६ जस्ता शरीरलाई आवश्यक पौष्टिक तत्व प्रसस्त मात्रामा पाइन्छ।

साउन १५ मा खिर खाने चलन छ। दुध र चामलबाट बनेको खिर अडिलो तथा अत्यन्त पौष्टिक खानेकुरा हो। यसमा प्रोटिन, कार्बोहाइड्रेट, फ्याट र खनिज प्रशस्त पाइन्छ। जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

साउन वा भदौमा जनै पूर्णिमा तथा क्वाँटी पूर्णिमामा विभिन्न प्रकारका गेडागुडीहरूलाई भिजाएर उमारिन्छ। यसमा विशेष गरि प्रशस्त मात्रामा प्रोटिन, खनिज र घुलनशील फाइबर पाइन्छ। त्यसैगरी केहि मात्रामा कार्बोहाइड्रेट र फ्याट पाइन्छ। कवाँटीलाई मासुको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ। घुलनशील फाइबरले सुगर, कोलेस्ट्रोल र रक्तचाप सन्तुलन राख्न सहयोग गर्छ।

तीजमा दर खाने चलन छ। चामल, घ्यूउ र ड्राइ फ्रुटको परिकारको रुपमा दर खाइन्छ। कर्कलो खाने समेत चलन छ। कर्कलो भिटामिन ‘ए’ र फलामको राम्रो श्रोत हो। इन्द्र जात्राको दिन समयबजी खाने चलन छ। बोडी, कालो भटमास, बारा, अदुवा, लसुन, कर्कलोको अचार, नेवारी अचारलगायत मिलाएर बनाइएको हुनाले यो परिकार अति नै पौष्टिक हुन्छ।

दशैंमा विशेषगरी माछामासु खाने चलन छ। मासुमा प्रोटिन, खनिज, क्याल्सियम, फस्फोरस सहित अन्य धेरै पोषक तत्व पाइन्छन्। मासु विशेष गरि भिटामिन बी-१२ को प्रमुख श्रोत पनि हो। माछामासु नखाने अर्थात शाकाहारी भोजन गर्ने व्यक्तिले पनि दशैंमा च्याउ, पनिर, सीमी तथा विभिन्न किसिमका गेडागुडी, हरिया सागसब्जी लगाएतका प्रोटिन प्राप्त हुने खाद्यपदार्थ खाने चलन छ।

त्यसैगरी तिहारमा सेल रोटी, फिने रोटी, कागते रोटी लगायतका परिकार खाने परम्परा छ। त्यसैगरी ओखर, मखाना, काजु, बदाम, नरिवल, किसमिस, पिस्ता, छोकडा, लगायत ड्राइ फ्रुट खाने चलन छ।

त्यसैगरि भोगटे, अमला जस्ता खानेकुरा खाइन्छ, जसमा भिटामिन ‘सी’ र एन्टीअक्सिडेन्ट प्रसस्त पाइन्छ। ड्राई फ्रुट, भिटामिन ‘सी’ र एन्टीअक्सिडेन्ट हुने खाद्यपदार्थ खाएको खण्डमा छिटो पाको देखिनबाट समेत बच्न सकिन्छ। छठमा पनि बिभिन्न परिकारहरु बनाएर खाने चलन छ।

धान्य पूर्णिमामा नयाँ चामलको न्वागी खाने चलन छ। न्वागी पनि पौष्टिक हुन्छ। योमरी पुिन्हमा नेवारी समुदायमा योमरी खाने चलन छ। यो चामलको पिठो भित्र तिल र चाकु राखेर बनाइन्छ। यो धेरै पोषिलो खाद्यपरिकार हो।

माघे संक्रन्तिमा घ्यू, चाकु, फुरौला, खिचडी, तिलको लड्डु लगायतका परिकार खाने चलन छ। त्यस्तै सखरखण्ड, तरुल, गीठा, भ्याकुर खाइन्छ। यी खानेकुरा अलि गरम प्रकृतिका हुन्छन्। यस्ता परिकार तथा कन्दमूल अत्यन्तै पौष्टिक हुन्छन्।

शरीरमा हर्मोनहरूको सन्तुलनका लागि समेत सखरखण्ड, तरुल, गीठा, भ्याकुर महत्वपूर्ण हुन्छन्। शिव रात्री/होली जस्ता चाडपर्वमा मिष्ठान्न भोजन सहित गेडागुडी, पोलेको उखुलगायत खाने तथा रमाउनले चलन छ।

(डा. ज्ञवाली टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका बरिष्ठ आयुर्वेद चिकित्सक हुन्।)

४ कात्तिक, २०८०, १९:२९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।