विश्वकपमा आठ वर्षपछि विराट कोहलीको शतक
काठमाडौं : विराट कोहलीको शतकको मद्दतले भारतले जारी एकदिवसीय विश्वकपमा बंगलादेशलाई ७ विकेटले पराजित गर्यो।
भारतले बंगलादेशलाई दिएको २५७ रनको लक्ष्य ४२औं ओभरमा पूरा गर्दै जारी विश्वकपमा लगातार चौथो जित हासिल गरेको हो।
विराट कोहलीले छक्का प्रहार गर्दै भारतलाई जित दिलाए। कोहलीले ९७ बलमा अविजित १०३ रन बनाए। उनले आफ्नो शतकीय पारीमा ६ चौका र चार छक्का प्रहार गरे।
विश्वकपमा विराट कोहलीको यो तेस्रो शतक हो। यद्यपि विश्वकपको रन चेजमा भने उनको यो नै पहिलो शतक हो।
आठ वर्षपछि शतक
विराट कोहलीले आठ वर्षपछि विश्वकपमा शतक प्रहार गरेका छन्।
विराटले आफ्नो पछिल्लो विश्वकप शतक सन् २०१५ को विश्वकपमा पाकिस्तानविरुद्ध बनाएका थिए। यद्यपि उनको पहिलो विश्वकप शतक भने सन् २०११ मा बंगलादेशविरुद्ध नै थियो।
यो एकदिवसीय क्रिकेटमा विराट कोहलीको ४८ औं शतक पनि हो।
यो इनिङ्समा विराटले विश्वकपमा १२ सय रन पनि पूरा गरेका थिए। यो इनिङ्समा विराट कोहली क्रिकेटमा सबैभन्दा छिटो २६ हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन्।
गिलको विश्वकपमा पहिलो अर्धशतक
यसअघि ओपनिङ ब्याट्सम्यान शुभमन गिलले विश्वकपमा आफ्नो पहिलो अर्धशतक (५३ रन) बनाए भने रोहित शर्माले ४८ रनको इनिङ खेले।
रोहित शर्मा र शुभमन गिलले भारतीय इनिङ्सको दमदार सुरुवात गर्दै पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरे।
शुभमन गिललाई मेहन्दी हसन मिराजले आउट गरे। रोहित शर्मालाई हसन महमुदले आउट गरेका थिए। रोहितले ४० बलको इनिङ्समा दुई छक्का र सात चौका प्रहार गरे।
भारतीय इनिङ्समा केएल राहुलले अविजित ३४ रन बनाए भने श्रेयस अय्यरले १९ रन बनाए।
अब भारतको अर्को खेल अक्टोबर २२ मा अंक तालिकाको नम्बर १ टोली न्यूजिल्याण्डसँग हुनेछ।
बंगलादेशका लिटन, तान्जिद र मोहम्मदउल्लाह पनि चम्किए
यसअघि आफ्ना ओपनर लिटन दास, तान्जिद हसन र मोहम्मदउल्लाहको इनिङ्सको मद्दतले बंगलादेशले आठ विकेटमा २५६ रन बनाएको थियो।
लिटन दासले ६२ बलमा अर्धशतक बनाए। जहाँ तान्जिद हसनले विश्वकपमा आफ्नो पहिलो अर्धशतक ४१ बलमा पूरा गरे।
यो ओपनिङ जोडी विकेटमा रहँदा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सही देखिन्थ्यो। त्यतिन्जेल बंगलादेश ६ को औसतमा ब्याटिङ गरिरहेको थियो।
खेलको १५औं ओभरमा कुलदीप यादवले यो जोडी तोडेका थिए। दुवैले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए।
यो जोडीको साझेदारी तोडिनेबित्तिकै भारतीय बलरहरूले बंगलादेशी ब्याट्सम्यानमाथि हावी भए। एकातिर उनीहरूले रन रेट नियन्त्रण गरे भने अर्कोतर्फ भटाभट विकेट लिन थाले।
९३ रनको स्कोरमा पहिलो विकेट आउट भएपछि बंगलादेशले अर्को ४४ रनमा तीन विकेट गुमाएको थियो। जसमध्ये दुई ब्याट्सम्यान नजमुल हुसेन र लिटन दासलाई रविन्द्र जडेजाले प्याभिलियन फर्काए।
भारतका लागि रविन्द्र जडेजा सर्वाधिक सफल बलर बने। उनले आफ्नो १० ओभरमा ३.८० मात्रै इकोनोमीमा बलिङ गर्दै दुई विकेट लिए।
त्यसपछि बंगलादेशको इनिङ्समा मुस्फिकुर रहिमले ३८ र मोहम्मदउल्लाहले ४६ रनको महत्वपूर्ण योगदान दिए।
जसप्रित बुमराह भारतका दोस्रो सफल बलर बने । उनले ४.१० को इकोनोमीमा बलिङ गर्दै विकेटकिपर मुस्फिकुर रहिम र मोहम्मदउल्लाहको विकेट लिए।
यी दुईबाहेक मोहम्मद सिराजले पनि दुई विकेट लिए। कुलदीप यादवले १० ओभरमा ४७ रन दिएर एक विकेट लिए भने शार्दुल ठाकुरले पनि एक विकेट लिए।
कात्तिक ३, २०८० शुक्रबार ०७:४३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।