नवरात्रको छैटौं दिन : कात्यायनी देवी पूजा अर्चना गरिँदै

नवरात्रको छैटौं दिन : कात्यायनी देवी पूजा अर्चना गरिँदै

शारदीय दुर्गापूजनोत्सवको छैटौं दिन आश्विन शुक्ल षष्ठी हो। यस दिन दुर्गाका नौ शक्तिमध्ये भगवती कात्यायनीको पूजा अर्चना हुन्छ।

कत नामका ऋषिको गोत्रमा जन्मेकी हुनाले यिनलाई कात्यायनी भनिएको हो। यिनको प्रादुर्भावबारे यस्तो कथा पाइन्छ।

अघि कात्यायन ऋषिले कठोर तपस्या गरेर भगवती महामायालाई प्रसन्न तुल्याए। देवी प्रकट भएपछि ऋषिले तपाईं मेरी पुत्रीका रूपमा रहनुहोस् भन्ने वर मागे। महामायाले उपयुक्त समयमा ऋषिका घरमा जन्म लिने वचन दिइन्।

पछि महिषासुरले देवलोकमा आक्रमण गरेर देवताहरूका अधिकार खोस्यो। देवताहरू भगवती महामायाको शरणमा गए। उनीहरूको प्रार्थना सुनेर देवी महामायाले उनीहरूका दुःख हरण गर्ने वचन दिइन्। सोहीअनुसार आश्विन कृष्ण चतुर्दशीका दिन कात्यायन ऋषिका घरमा जन्म लिइन्।

इन्द्रादी देवताहरूलाई देवी कात्ययनीको प्रादुर्भाव भएको कुरा थाहा थियो। उनीहरूले आश्विन शुक्ल षष्ठीका दिन देवीसामु गएर पुनः प्रार्थना गरे।

कात्यायनीले आश्विन शुक्ल सप्तमी, अष्टमी र नवमी गरी तीन दिन कात्यायन ऋषिको पूजा ग्रहण गरिन् अनि उपयुक्त समय आएकाले देवताहरूको दिव्य तेज र शस्त्र–अस्त्र ग्रहण गरेर दशमीका दिन महिषासुरको वध गरिन्।

अर्को प्रसङ्ग अनुसार महिषासुरको वधका लागि इन्द्रादि देवताहरूको शक्ति एकत्रित भएर चण्डिका रूपमा देवी प्रकट भइन्। त्यसबेला सबैभन्दा पहिले कात्यायन ऋषिले यिनको पूजा गरे। त्यसै हुनाले यिनको नाम कात्यायनी रहन गयो।

कात्यायनीको उपासनाबाट उपासकले शारीरिक सौन्दर्यका साथै मानसिक शान्ति प्राप्त गर्छ। मनोवाञ्छित फल दिने यी देवीको उपासनाबाट पाप नाश भएर धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थ प्राप्त गर्न सकिन्छ भन्ने पौराणिक मान्यता छ।

कात्यायनीको पूजा आराधना गर्नाले अविवाहित युवतीले चाँडै सुन्दर पति प्राप्त गर्छिन् भन्ने विश्वास छ।

पूजाविधि 
नवरात्रका अघिल्ला दिनहरूमा जस्तै छैटौं दिन कात्यायनीको पूजा हुन्छ। कात्यायनीको पूजा गर्दा अरू मन्त्रका अतिरिक्त ॐ कात्यायन्यै नमः भनेर गर्न सकिन्छ। कात्यायनीको पूजा गर्दा उनको वाहन सिंह र उनका शस्त्रअस्त्रको पनि पूजा गर्नुपर्छ।

नवरात्रको छैटौं दिनमा ७ वर्षकी कन्याको पूजा हुन्छ। छैटौं दिन पूजा गरिने कन्यालाई चण्डिकाका रूपमा पूजा गर्नुपर्छ। यिनलाई ॐ चण्डिकायै नमः, ॐ कुमार्यै नमः भनेर पूजा गर्न सकिन्छ। अन्य कर्म अरू दिनजस्तै गर्नुपर्छ। 
 

कात्तिक ३, २०८० शुक्रबार ०७:०८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।