'अति राम्रो फिल्म'को दाबी नै ब्याक फायर हुनसक्छ भष्मे डन टिमलाई

'अति राम्रो फिल्म'को दाबी नै ब्याक फायर हुनसक्छ भष्मे डन टिमलाई

काठमाडौं : जति बढी अपेक्षा जगाउन सक्यो त्यति जोखिम हुनु सामान्य नै हो। त्यसैले पशुपतिप्रसाद-२ : भष्मे डनले दर्शकहरूमाझ जुन चासो बढाएको छ, त्यही अनुसार हलमा पुग्ने दर्शकलाई सन्तुष्ट बनाउनुपर्ने चुनौती पनि उस्तै छ।

दर्शकले रुचाएको पात्र हो भष्मे डन। फिल्मको टिमको मिहिनेतले ‘फिल्म त भव्य बने जस्तो छ’ भन्ने बनाउन सफल भएका छन्। ठूलै अपेक्षा लिएर हलमा गएका दर्शकले सामान्य मात्रै कमजोरी देखे भने पनि त्यसको क्षति भने ठूलै हुने जोखिम हुन्छ नै।

प्रचारको माध्यमबाट बनाएको क्रेजले दर्शकलाई हलसम्म तान्ने पहिलो दिन हो। त्यसपछिको माहौल निर्माण टिम र कलाकारले हैन फिल्म हेरेका दर्शकले बनाउने हुन्।

फिल्म रिलिज हुनुभन्दा अगाडिको सकारात्मक माहौल भन्दा फिल्म हेरेका दर्शकले मौखिक रूपमा गर्ने प्रचार बढी बलियो हुने गरेका छन्। त्यसैले भष्मे डनको हकमा सबैभन्दा ठूलो चुनौती नै प्रचारको क्रममा जगाएको दर्शकको आस अनुसारको फिल्म नै हो।

शुक्रबार छाडेर रिलिज डेट शनिबार पुर्याएको फिल्मको चुनौती नै पुरानै क्षेत्र अनि पुरानै पात्र हो। कथा क्षेत्र पशुपति नै हो भने कथाको केन्द्रीय पात्र पहिल्यै परिचित भष्मे डन।

सार्वजनिक भएका प्रचार सामग्री अनि कलाकारहरूको अन्तर्वार्ताबाट यसपटक विपिन सकारात्मक चरित्रमा रहेको खुलिसकेको छ। ट्रेलर सहितका प्रचार सामग्रीमा अनुहारभरी रगत लतपतिएका विपिनले ‘तोडौँ कि नतोडौँ’ भनेकाले फिल्ममा त्यही कसमलाई नै मूल द्वन्द्व बनाएको सङ्केत देखिइसकेको छ।

सौगात मल्ल फिल्ममा नकारात्मक क्यारेक्टरमा रहेको खुलिसकेको छ। सुनको दाँत अनि बागमतीमा सुन पाइन्छ र भन्ने सौगातको संवादले बागमतीमा फेला पर्न सक्ने शवका सुन खोज्दा उत्पन्न हुने द्वन्द्व र आफ्नै कसमका कारण हिंसामा उत्रिन नसकेको भष्मे नै यस पटकको मुख्य द्वन्द्व हुनसक्ने प्रचार सामग्रीले नै सङ्केत गरेका छन्।

फिल्ममा चर्चित कलाकारहरूको भिड छ। तर भष्मे बनेका विपिन कार्की र सौगात मल्ल बाहेक अन्यको भूमिका छोटो-छोटो रहेको देखिन्छ।

पशुपति क्षेत्रमा सुटिङ गर्न पुगेकी आँचल शर्मा गीतमै मात्र देखिने सङ्केत आइसकेको छ। भष्मेलाई जबर्जस्ती नचाइएको दृश्य फिल्मको कथासँग जोडिए त ठिकै हो। नत्र यही गीत निर्माण टिमलाई भारी पर्न सक्छ।

देवी बनेकी स्वस्तिमा खड्कासँगको भष्मेको संवादले त्यो उनको कल्पना हो कि भन्ने देखियो ट्रेलरमै। अर्कोतिर स्वस्तिमासँग प्रेम शरणम् भन्दै विपिनलाई नचाइएको गीत पनि आएको छ। यो गीत केवल प्रचार सामग्री मात्र हो या फिल्मकै अङ्ग त्यो खुलेको छैन।

यस अगाडि दयाहाङ राई र सौगात मल्लको जोडी जमेकै हो। विपिन र सौगातको जोडी परीक्षण हो भष्मेमा। दुवैको पृष्ठभूमि रग मञ्च नै हो। दुवैको प्रशंसकहरूको समूह पनि लगभग मेल खाएको देखिन्छ।

फिल्म भष्मेमा विपरीत चरित्रमा रहेकाले यी दुईको दुस्मनीलाई फिल्ममा कसरी उतारिएको छ अनि दर्शकले कसरी हेर्छन् त्यसैमा यो फिल्मको व्यापारको अङ्क निर्भर देखिन्छ।

कात्तिक २, २०८० बिहीबार २३:३५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।