सिजी ब्रुअरीका मजदुर आन्दोलनमा, प्रहरीको दमनमा १० मजदुर घाइते

सिजी ब्रुअरीका मजदुर आन्दोलनमा, प्रहरीको दमनमा १० मजदुर घाइते

नवलपरासी :  सांसद विनोद चौधरी प्रमुख रहेको चौधरी समूहको सिजी ब्रुअरीका मजदुर दशैँमा आन्दोलित भएका छन्। कम्पनीले दशैँमा बोनस नदिएको भन्दै मजदुर आन्दोलित भएका हुन्।

मजदुरको आन्दोलन नियन्त्रण गर्न प्रहरी परिचालित भए। प्रहरीले आन्दोलनमा रहेका मजदुरमाथि लाठी प्रहार गरेको थियो।

नेपाल कारखाना श्रमिक सिजी ब्रुअरीले बिहीबार निकालेको विज्ञप्तिमा प्रहरी हस्तक्षेपबाट १० मजदुर घाइते भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको उल्लेख गरेको छ।

प्रहरीले लाठी प्रहार गर्दा चुनबहादुर सुनारी, शुकबहादुर माकिम, लक्ष्मण कोइराला, कृष्ण श्रेष्ठ, अरुण चौधरी, अर्जुन विक, मनिष पंज्ञेनी, सुशील पण्डित, मनीषा देवकोटा, नीरज काफले घाइते भएको उनीहरूको दाबी छ।

उनीहरू दसैँको बेलामा पहिला झैँ नगद बोनस पाउनुपर्ने माग राख्दै बुधवारबाट आन्दोलनमा उत्रिएका थिए। उत्पादनमा असर नपारी आन्दोलन गर्दा व्यवस्थापनले शक्ति दुरुपयोग गर्दै आन्दोलनमा दमन गराएको मजदुर नेताहरूले दाबी गरेका छन्। ब्रुअरीमा ३ सय २५ मजदुर कार्यरत रहेका छन्।

उता व्यवस्थापनले आर्थिक मन्दीका कारण बोनस वितरण गर्न नसकिएको र मजदुर आन्दोलनको आवरणमा व्यवस्थापनमा संलग्न कर्मचारीमाथि कुटपिट भएको दाबी गरेको छ।

कात्तिक २, २०८० बिहीबार २२:१५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।