त्रिदेशीय टी-२० सिरजको दोस्रो खेलमा हङकङविरुद्ध नेपालको जित
काठमाडौं : युएईसहित तीन देश सम्मिलित त्रिदेशीय टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले हङकङलाई छ विकेटले पराजित गरेको छ।
९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो। नेपालका आशिफ शेखले सर्वाधिक ४२ रनको पारी खेले।
त्यसबाहेक कुशल भुर्तेल ८, सन्दीप जोरा ३, कुशल मल्ल १ रनमा आउट भए। रोहित पौडेल र गुल्सन झा क्रमशः २५ र १४ रन बनाएर नटआउट रहे।
हङकङका इशान खानले तीन तथा यासिम मुर्तजाले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको हङकङ १९.३ ओभरमा ९४ रन बनाएर अलआउट भयो।
उसका लागि यासिन मुर्तजा र जीसान अलिले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
हङकङलाई सस्तैमा समेट्न नेपालका करण केसीले चार, अबिनाश बोहरा र सोमपाल कामीले दुई-दुई तथा कुशल मल्ल र मौसम ढकालले समान एक-एक विकेट हात पारे।
योसँगै नेपालले सिरिजको दुई खेलमा विजयी भएको छ। यसअघि बुधबार युएईलाई नेपालले सात विकेटले पराजित गरेको थियो।
सिरिजको अर्को खेलमा शनिबार विहान ११ बजे नेपालले पुनः हङकङसँग नै खेल्नेछ।
डबल राउन्ड रोबिनमा भएको सिरिजका शिर्ष दुई टोलीले कात्तिक १० गते फाइनल खेल्नेछ।
कात्तिक २, २०८० बिहीबार १३:४९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।