नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश, साउदी अरेबिया ३०१ रनले पराजित

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश,  साउदी अरेबिया ३०१ रनले पराजित

काठमाडौं : नेपाल मलेसियामा जारी १९ वर्षमुनिको एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरेबिया १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएसँगै ३०१ रनले खेल जित्यो। जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

नेपालको समूहमा साउदी अरेबियासँगै बहराइन र इरान थिए।

साउदी अरेबियाका लागि बरुण सराभरान मुदालायरले सर्वाधिक १० रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

साउदी अरेबियालाई सस्तैमा समेट्न नेपालका दिपेश कँडेलले छ, आकाश चन्दले दुई तथा सुवास भण्डारीले एक विकेट लिए। दिपेशले बहराइनसँगको खेलमा पनि छ विकेट लिएका थिए।

त्यसअघि युकेएम ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४७ रन जोड्यो।

उसका लागि अर्जुन कुमालले १११ बलको सामना गरेका उनले १७ चौका र २ छक्काको मद्दतमा १४२ रनको शतकीय पारी खेले।

आकाश त्रिपाठीले ९८ बलमा ६ चौका र दुई छक्काको मदद्तले ८९ रन जोड्दा दीपक बोहरा २९, दिपेश कँडेल र दीपक प्रसाद डुम्रेले समान १४-१४ रन बनाएर आउट भए।

विशाल विक्रम केसीले अविजित रहँदै २३ रन बनाए।

साउदी अरेबियाका अब्लुल्लाह सिराज, मोहम्मद अहमद राजा र मोहम्मद घायोर अहमदले समान दुई-दुई तथा जुहेर मोहम्मद र शाहजिद मुजिबुर रहमानले समान एक-एक विकेट लिए।

कात्तिक २, २०८० बिहीबार १३:००:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।