गृहमन्त्री बोल्न सक्ने अवस्थामा आउनुभाकाे छ : सरकारकी प्रवक्ता

गृहमन्त्री बोल्न सक्ने अवस्थामा आउनुभाकाे छ : सरकारकी प्रवक्ता

काठमाडौं : हृदयाघात भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीनमै चिकित्सकको निगरानीमा राखिएको छ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई हिजो छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको सरकारकी प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन्।

आजको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले यस विषयमा पनि छलफल गरेको जानकारी दिँदै उनले उपप्रधानमन्त्री श्रेष्ठ खतरा मुक्त भएको बताइन्।

उनले श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको र उपचारमा अझै समय खर्च हुने पनि बताइन्।

‘गए राति उहाँलाई अचानक ह्दयघात भयो र चाइनाको बेइजिङस्थित हस्पिटलमा उहाँको उपचार भइरहेको छ। अहिले उहाँ खतरामुक्त हुनुहुन्छ भन्ने खबर छ। राजदूतसँग प्रधानमन्त्रीको कुरा भइरहेको छ,’ उनले भनिन्, ‘उहाँ बोल्न सक्ने अवस्थामा आउनुभाकाे भन्ने खबर आएको छ। दुई चार दिन उहाँको उपचारमा अझै समय खर्च हुनसक्छ भन्ने खबर छ।’

उनी मंगलबार र बुधबार बेइजिङमा भएको बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारे छलफलमा सहभागी भएका थिए।

कात्तिक २, २०८० बिहीबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।