गाजामा मानवीय सहायता पुर्‍याउन रफाह क्रसिङ खोल्न इजिप्ट सहमत

गाजामा मानवीय सहायता पुर्‍याउन रफाह क्रसिङ खोल्न इजिप्ट सहमत

एजेन्सी : गाजामा मानवीय सहायता पुर्याउन रफाह क्रसिङ खोल्न इजिप्ट सहमत भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटपछि यस्तो घोषणा गरेका थिए। अब इजिप्टले यसको पुष्टि गरेको छ।

इजिप्टका राष्ट्रपतिका प्रवक्ता अहमद फाहमीले भने, ‘इजिप्टका राष्ट्रपति अब्दुल फताह अल-सिसी र अमेरिकी राष्ट्रपति जो बाइडेन रफाह टर्मिनलमार्फत गाजामा मानवीय सहायता पुर्याउन सहमत भएका छन्।’

गाजा पट्टीमा मानवीय सहायता प्रदान गर्न खोजिरहेका अन्तर्राष्ट्रिय एजेन्सीहरूले पनि यस क्रसिङबाट गाजाभित्र आफ्ना ट्रकहरू लैजान सक्छन्।

इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘यस कठिन दिनमा इजरायलको साथमा रहेको’ बताएका छन्।

उनले भने, ‘इजरायल, तिमी एक्लै छैनौ। इजरायल एक सुरक्षित यहूदी प्रजातन्त्र रहनेछ। आज भोलि र सधैंभरि।’

जो बाइडेनले पनि आफू ‘प्यालेस्टिनी जनताका लागि दुःखी’ भएको समेत बताएका छन्।

बाइडेनले ट्वीटमा भनेका छन्, ‘मलाई यो स्पष्ट गर्न दिनुहोस् कि प्यालेस्टिनीहरूको ठूलो संख्या हमास होइन र हमासले प्यालेस्टिनी जनताको प्रतिनिधित्व गर्दैन।’

के हो रफाह क्रसिङ?
रफाह क्रसिङ गाजा पट्टीको दक्षिणमा अवस्थित सीमा क्रसिङ हो। यसले गाजा पट्टीलाई इजिप्टको सिनाई मरुभूमिसँग जोड्छ।

गाजा पट्टीमा दुई अन्य सीमा पारहरू छन्, इरेज र केरेम शालोम। यी मध्ये, इरेज क्रसिङले उत्तरी गाजालाई इजरायलसँग जोड्छ।

केरेम शालोम इजरायल र गाजा बीचको क्रसिङ पनि हो तर यसलाई व्यावसायिक गतिविधिका लागि मात्र प्रयोग गरिन्छ।

इजरायलले हमास विरुद्धको जवाफी कारबाही सुरु गरेपछि यी दुवै सीमा नाका बन्द गरिएका छन्।

इजरायलमा हमासको आक्रमणको केही दिन पछि, इजरायलले इरेज र केरेम शालोम क्रसिङ अर्को सूचना नभएसम्म बन्द गर्ने घोषणा गर्यो।

यस्तो अवस्थामा गाजा पट्टीबाट सर्वसाधारण प्यालेस्टाइनीहरूका लागि रफाह क्रसिङ एक मात्र बाटो बनेको छ।

कात्तिक २, २०८० बिहीबार ०८:१६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।