एनआरएन अध्यक्ष उम्मेदवारबाट रविना ब्याक भइन्, महेशलाई समर्थन

एनआरएन अध्यक्ष उम्मेदवारबाट रविना ब्याक भइन्, महेशलाई समर्थन

काठमाडौँ : पार्टीको समर्थन नपाएपछि अन्तिम समयमा रविना थापाले गैर आवासीय नेपाली सङ्घको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएकी छिन्।

नेपाली कांग्रेसका प्रतिनिधिले साथ नदिएपछि अन्तिम समयमा उनले उम्मेदवारी फिर्ता लिइन्।

बुधवार अबेर अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्।

बुधवार बेलुकी प्रेस विज्ञप्ति निकालेर  थापाले सङ्घलाई एकताबद्ध गर्न उम्मेदवारी फिर्ता लिएको उल्लेख गरेकी छिन्।

श्रेष्ठले निर्वाचित भएको तीन महिनाभित्र सङ्घलाई एकताबद्ध गर्ने स्पष्ट कार्य योजना अगाडी सारेको र त्यसको स्वागत र समर्थन गरेको उल्लेख गरेकी छिन्। 

सङ्घभित्र एकता पक्षधर बलियो बन्नु सङ्घलाई बलियो बनाउनु रहेको भन्दै उनले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको उल्लेख गरेकी छिन्।

उनले श्रेष्ठ र उनको भिजन र एजेन्डाप्रति समर्थन जनाउने उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गरेकी छिन्।

उनले उम्मेदवारी फिर्ता लिएपछि अब अध्यक्षमा तीन जना उम्मेदवार कायम भएका छन्। एमालेको समर्थनमा डा बद्री केसी उम्मेदवार बनेका छन्। माओवादी केन्द्रमा निकट राजेन्द्रकुमार शर्मा उम्मेदवार छन्। 

कात्तिक २, २०८० बिहीबार ०१:४१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।