त्रिकोणात्मक टी–२० सिरिज : युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशत, नेपाल ७ विकेटले विजयी
काठमाडौं : घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा युएईलाई सात विकेटले पराजित गरेको छ।
कप्तान रोहित पौडेलको अर्धशतकीय पारीको मद्दतमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो।
मूलपानीस्थित क्रिकेट मैदानमा युएईले दिएको १४१ रनको लक्ष्य नेपालले ७ बल खेल्न बाँकी रहँदै ३ विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहँदै ५१ रन बनाए। दिपेन्द्रसिंह ऐरीले अविजित रहँदै २३ बलमा १ छक्का र ३ चौकाको सहायताले ३४ रन बनाए।
त्यस्तै, आसिफ शेख २७ बलमा १ छक्का र २ चौका हान्दै २३ रन बनाएर आउट भए भने अर्का ओपनर कुशल भूर्तेल १४ बलमा १ चौकाको मद्दले १४ रन बनाएर आउट भए।
त्यसपछि क्रिजमा आएका कुशल मल्ल ९ बल खेलेर २ चौका हान्दै ११ रन बनाएका वेला अली नासेरबाट रन आउट भए।
यूएईका लागि निलांश केसवानी र अली नासेरले १/१ विकेट लिएका छन्। पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा नेपालसामु जितका लागि १४१ रनको लक्ष्य दिएको थियो।
युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रनको योगदान गरे। अली नासिरले ३२ रन जोड्दा कप्तान मोहम्मद वासीम १७ रनमा पेभेलियन फर्किए।
आशिफ खान १५ तथा अलिशान शराफु ६ रनमा आउट हुँदा खालिद शाहले खाता नै खोल्न सकेनन्।
नेपालका लागि करण केसीले सर्वाधिक ३ तथा गुल्सन झाले २ विकेट लिए। सोमपाल कामी र अविनाश बोहराले १/१ विकेट लिए।
कात्तिक १, २०८० बुधबार १७:०२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।