कान्तिपुर दैनिकको हेडक्वार्टर दोस्रो दिन पनि धर्ना, कान्तिपुरकर्मी प्ले कार्ड लिएर गेटमा बसे

कान्तिपुर दैनिकको हेडक्वार्टर दोस्रो दिन पनि धर्ना, कान्तिपुरकर्मी प्ले कार्ड लिएर गेटमा बसे

काठमाडौँ : श्रमजीवी ऐन विपरीत निष्कासन गरेको विरोधमा कान्तिपुर पब्लिकेशन प्रालीका पत्रकारहरू धर्नामा बसेका छन्। दोस्रो दिन उनीहरू पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीमा धर्नामा बसेका हुन्।

धर्नाको नेतृत्व नेपाल पत्रकार महासङ्घ केन्द्रले गरेको हो। ८६ जना पत्रकारलाई अवैध रूपमा निष्कासन गरेको विरोधमा कान्तिपुरका पत्रकारहरू आन्दोलित छन्। बीचमा व्यवस्थापन र कान्तिपुरमा रहेको नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान शाखाबीच सहमति भएपछि केही सहमतिमा आए पनि २५ जनाले भने महासङ्घमा उजुरी दिएका थिए।

कान्तिपुर व्यवस्थापनले श्रमजीवी पत्रकार ऐन अनुसार भन्दा पनि आफू अनुकूल वर्ष गणना गरेर केन्द्रको हकमा वार्षिक ५० हजार, ५५ हजार र ६० हजार दिने प्रस्ताव गरेको थियो भने जिल्लामा कार्यरत पत्रकारहरूको हकमा २० हजार, २५ हजार र ३० हजारको दरले काम गरेको वर्ष अनुसारको रकम दिएर अवकाश दिने प्रस्ताव ल्याएको थियो।

महासङ्घको कान्तिपुर प्रतिष्ठान र ब्यवस्थापनपक्षविच सोही विषयमा सहमति भए पनि निष्कासनमा परेका केही पत्रकारहरूले भने विमति जनाउँदै कानुनमा जे व्यवस्था छ त्यही अनुसार हुनुपर्ने माग राखेका छन्।

महासङ्घले समेत जो जसलाई अवकाश दिने हो उनीहरूलाई श्रमजीवी पत्रकार ऐन अनुसार कार्यान्वयन गर्नुपर्ने माग अगाडि सारेको छ।

‘हामीले पच्छ्याउने भनेको श्रमजीवी पत्रकार ऐन हो। नियुक्ति गर्दा होस् या अवकाश दिँदा त्यही कानुन अनुसार हुनुपर्छ भन्ने हाम्रो माग हो’ धर्नामा सहभागी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य विकास कार्कीले उकेरासँग भने।

कात्तिक १, २०८० बुधबार १६:२९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।