विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग पराजित

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग पराजित

काठमाडौं : आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

मंगलबार राति सम्पन्न खेलमा नेदरल्याण्डसले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो।

नेदरल्याण्डसले दिएको २४६ रनको लक्ष्य पछाएको खेलमा दक्षिण अफ्रिका ४२ दशमलव ५ ओभरमा अल आउट हुँदै २०७ रनमा समेटियो।

दक्षिण अफ्रिकाका डेभिड मिलरले सर्वाधिक ४३ रन जोडे। त्यसबाहेक केशव महराज ४०, हेनरिच क्लासेन २८, गेराल्ड कोट्जी २२, क्विन्टन डी कक २०, कप्तान तेम्बा बामुभाले १६ रन जोडे।

नेदरल्याण्ड्सका लोगान भान विकले तीन, पल भान मीकीरिन, बस डी लीडे र रोलफ भान डेर मेरवेले समान दुई-दुई विकेट लिए।

जारी विश्वकपमा नेदरल्याण्ड्सको यो पहिलो जित हो। यसअघि भएको टी-२० विश्वकपमा पनि नेदरल्याण्स्ले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो।

नेदरल्याण्ड्सले निर्धारित ४३ ओभरमा ८ विकेट गुमाउदै २४५ रन बनाएको थियो। वर्षाले प्रभावित खेललाई ४३ ओभरमा झारिएको थियो।

उसका लागि स्कर्ट एडवार्डले अविजित रहँदै सर्वाधिक ७८ रन बनाएका थिए। त्यसबाहेक दुई खेलाडीबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सफल रहे।

यसअघि अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई पराजित गरेको थियो भने यस खेलमा नेदरल्याण्डसले बलियो मानिएको दक्षिण अफ्रिकालाई पराजित गरेको हो।

यसअघि लागातार दुई खेलमा हार बेहोरेको नेदरल्याण्ड्सको यो यस विश्वकपमा पहिलो जित हो। यो जितपछि नेदरल्याण्डसको ३ खेलमा २ अंक भएको छ। त्यसैगरी दक्षिण अफ्रिकाको ३ खेलमा ४ अंक रहेको छ।

कात्तिक १, २०८० बुधबार ०७:५३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।