कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन्।
कार्कीले विश्वासको मत लिने सूचना प्रदेशसभालाई सोमबार दिएका थिए। मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको दुई दिनअघि प्रदेशसभालाई सूचना दिनुपर्ने प्रदेशसभा नियमावलीको व्यवस्था छ।
कोशी प्रदेशमा असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।
प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै असोज २० गते स्थगित प्रदेश सभा बैठक कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बस्ने सूचना जारी गरेको हो।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आफू नियुक्त भएको एक हप्ताभित्रै विश्वासको मत लिन लागेका हुन्।
यसअघि नियुक्त भएका मुख्यमन्त्रीहरूले विश्वासको मत लिने तालिका ३०औँ दिनसम्म पुग्ने गरेको थियो।
तर, एमालेका ३९ र कांग्रेसका ८ सांसदको विद्रोहपछि मुख्यमन्त्री बनेका कार्की एक साताभित्र विश्वासको मत लिने तयारीमा जुटेका हुन्।
यसैबीच नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ।
बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका मुख्यमन्त्री कार्कीलाई आफ्नो पार्टीले पनि समर्थन गर्ने माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेतीले बताए।
कात्तिक १, २०८० बुधबार ०७:१८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।