अरुण तेस्रो समयमै सक्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौँ : लगानी बोर्डको बैठकले सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको प्रवेश मार्ग छ्याङ्कुटी - दिदिङ्ग ०-२४ किमी) सडक खण्डको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बोर्डको ५६ औँ बैठकले यस्तो निर्णय गरेको हो।
एसजेभीएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले १ खर्ब ४४ अर्बको लगानीमा परियोजना निर्माण गरिरहेको छ।
यसको भौतिक प्रगति ६६.३ प्रतिशत र प्रसारणलाइनतर्फ १५.४६ प्रतिशत रहेको बोर्डले जानकारी दिएको छ।
मङ्गलवार बसेको बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले परियोजना विकास सम्झौताका करारीय दायित्व पूरा गर्न सरकारको सिङ्गो संयन्त्रले प्रभावकारी कदम चाल्नुपर्ने बताएका थिए।
बैठकमा प्रचण्डले अरुण तेस्रो जलविद्युत परियोजना सार्वजनिक-निजी साझेदारी अवधारणामा कार्यान्वयन भइरहेको विदेशी लगानीको परियोजना भएकाले सहज र सफल कार्यान्वयन तथा प्रभावकारी सहजीकरणले विदेशी लगानीको अनुकूल वातावरण रहेको सन्देश प्रवाहित हुने बताएका थिए।
उनले परियोजना समयमा सम्पन्न गर्न आवश्यक सहजीकरणका लागि सम्बन्धित निकायहरूले प्रभावकारी समन्वयसहित चुस्त ढङ्गले काम गर्न निर्देशन समेत दिएका थिए।
बोर्ड बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, निजी क्षेत्रका विज्ञ सदस्य भवानी राणा, हरिभक्त शर्मा र राजेशकाजी श्रेष्ठ सहभागी थिए।
असोज ३०, २०८० मंगलबार २१:५६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।