नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै त्यसको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपति पौडेलको आग्रह

नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै त्यसको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै त्यसको सदुपयोग गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन्। 

मंगलबार काठमाडौं स्थित सोल्टी होटेलमा सुरु भएको एनआरएनएको विश्व सम्मेलन तथा ११ औँ महाधिवेशनलाईलाई सम्बोधन गर्दै उनले अन्य मुलुकका लगानी कर्ताहरुलाई पनि नेपालमा लगानी गर्न अभिप्रेरित गर्न एनआरएनएलाई आग्रह गरेका हुन्। 

उनले भने, ‘नेपालीमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्नुहोस्। र, तपाईँहरू बसोवास गरेको मुलुकका लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न अभिप्रेरित गर्नुहोस्।’ 

देशको आन्तरिक क्षेत्रमा लगानी वृद्धि गरी आर्थिक विकास गर्न सके मात्र विकास र समृद्धि हुन सक्ने भन्दै राष्ट्रपतिले यसतर्फ एनआरएनएको ध्यानाकर्षण गराए । यसो भएमा नेपाल र विदेशमा बस्ने सबै नेपालीको पनि शीर उँचो हुने राष्ट्रपतिको भनाइ छ । 

राष्ट्रपति पौडेलले एनआरएनएको सरोकारको विषयमा नेपाल सरकारले नीतिगत तथा कानुनी व्यवस्था तर्जुमा गरेको भन्दै एनआरएनए नागरिकताको पनि व्यवस्था गरेको स्पष्ट पारे।

विश्वका विभिन्न मूलकमा रहेका नेपालीलाई एकताबद्ध गर्न  एनआरएनएले भूमिका खेलेको भन्दै प्रशंसा पनि गरे। 

नेपाल समृद्ध नहुँदा सम्म नेपालीको प्रतिष्ठा बढ्न नसक्ने बताउँदै उनले भने, ‘नेपाललाई विकास, समृद्धि र सुशासनतर्फ लैजान एनआरएनएको रणनीतिक भूमिका र दायित्व वाञ्छनीय छ।’

त्यस्तै राष्ट्रपति पौडेलले नेपालमा विश्व प्रसिद्ध सगरमाथालगायत अग्ला र रमणीय पहाडहरू भएको उल्लेख गर्दै  मुलुक प्राकृतिक सुन्दरता र दुर्लभ स्रोतहरूको सम्बन्ध भएको बताए। 

असोज ३०, २०८० मंगलबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।