पहिलो गैर आवासिय नेपाली नागरिकता कुल आचार्य र बद्री केसीलाई

पहिलो गैर आवासिय नेपाली नागरिकता कुल आचार्य र बद्री केसीलाई

काठमाडौं : सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न शुरु गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो गैर आवासिय नेपाली नागरिकता एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई प्रदान गरेका छन्। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो। 

ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरे। नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ।

अन्य देशको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि अन्य देशको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ।

संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो। 

७७ वटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए। 

गैरआवासीय नेपाली नागरिकताका लागि आजदेखि गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन्। आउँदो कात्तिक १ गतेदेखि सबै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने उनले बताए। 

असोज ३०, २०८० मंगलबार १०:५२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।