नवरात्रको तेस्रो दिन : स्वरकी स्वामिनी चन्द्रघण्टाको पूजा

नवरात्रको तेस्रो दिन : स्वरकी स्वामिनी चन्द्रघण्टाको पूजा

काठमाडौं : शारदीय नवरात्रको तेस्रो दिन आश्विन शुक्ल तृतीया हो। यस दिन दुर्गा भवानीका नौ रूपमध्ये चन्द्रघण्टाको पूजा आराधना गरिन्छ। चन्द्र र घण्टा शब्द मिलेर चन्द्रघण्टा शब्द बनेको छ। शिरमा अर्धचन्द्र आकारको घण्टा धारण गरेकी हुनाले यी देवीको नाम चन्द्रघण्टा रहन गएको हो।

चन्द्रघण्टा सुनौलो र चम्किलो वर्णकी, दश हात भएकी, सेता पुष्पको माला पहिरेकी, हातमा खड्ग, गदा, त्रिशूल, धनुर्वाण आदि अस्त्रशस्त्र लिएकी, सिंहमा सवार हुने देवी हुन्। यिनको हाउभाउ क्रुद्ध र युद्धका लागि तम्तयार भएको जस्तो देखिन्छ।

घण्टा देवीको प्रिय वाद्य हो। त्यसैले देवीको पूजामा घण्टाको विशेष महत्त्व छ। घण्टाबाट मधुर र मन एकाग्र गर्ने ध्वनि निस्कन्छ। त्यसैले चन्द्रघण्टालाई स्वरकी स्वामिनी पनि मानिएको छ।

यिनले सेवकका लागि घण्टाको मधुर ध्वनि प्रदान गर्छिन् भने आसुरी स्वभावका दुष्टहरूका लागि प्रचण्ड ध्वनि प्रदान गर्छिन्। युद्धमा यिनको उग्र अट्टहास र हृदयभेदी शङ्ख–घण्टाको ध्वनिले दैत्य–दानवहरू मूर्च्छित भएका प्रसङ्ग पुराणहरूमा वर्णित छन्।

सेवकका लागि भने यिनी सुमधुर स्वर, संगीत र कलाकी स्रोत हुन्। स्वरसाधक, संगीतकर्मी र कलाकारले यिनको उपासना गर्नाले आफ्नो अभीष्ट प्राप्त गर्छन्।

युद्धकी देवी चन्द्रघण्टा 

चन्द्रघण्टा युद्धका लागि तयार देवीको अवस्था विशेष हो। यिनका दश हात विभिन्न शस्त्रअस्त्रहरूले विभूषित छन्। देवताहरूको रक्षाका लागि पटक-पटक प्रकट भएर यिनले महिषासुर, शुम्भ–निशुम्भ, रक्तबीज आदि दानवहरूको वध गरेका कथा प्रसंगहरू देवीभागवत, मार्कण्डेय पुराण आदि ग्रन्थमा आएका छन्।

मार्कण्डेय पुराण अन्तर्गतको सप्तशतीका कथा अनुसार दानवहरूबाट त्रस्त भएका देवताहरूले आफ्नो रक्षाका लागि मातृशक्तिको पुकारा गरेका छन् र इन्द्र आदि देवताहरूको शक्ति एकत्रित भएर देवी प्रकट भएकी छन्। उनैले दानवहरूको वध गरेर देवताहरूले आ-आफ्ना स्थान प्राप्त गरेका छन्।

सिंहवाहिनी भगवती चन्द्रघण्टाको कृपा प्राप्त गर्ने भक्त सिंहजस्तै पराक्रमी र निडर हुन्छ भन्ने पुराणको मान्यता छ। यिनको घण्टाको ध्वनिले गर्दा भूत, प्रेत, पिचास आदिबाट हुने बाधा दूर हुन्छन्। युद्धमा विजय प्राप्त हुन्छ। जीवनमा सधैं उत्साह प्राप्त हुन्छ।

पूजाविधि 

नवरात्रको तेस्रो दिन अघिल्ला दिनहरूमा जस्तै नित्यस्नान, सन्ध्यावन्दन आदि सकेर पूजास्थलमा गइ पूजा सामग्री तयार गरिन्छ र दीप, कलश, गणेश आदि आवाहित/स्थापित देवी–देवताहरूको पूजा गरिन्छ।

यस दिन प्रधान देवताका रूपमा स्थापित घटमा चन्द्रघण्टाको पूजा हुन्छ। देवीको पूजा गर्दा उनका प्रमुख तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीलाई सधैं सम्झनुपर्छ। देवीका जुन रूपको पूजा गर्ने हो तिनका वाहन र शस्त्रअस्त्रको पनि पूजा गर्नुपर्छ।

असोज ३०, २०८० मंगलबार ०७:४४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।