गगन र विश्वप्रकाशले कोशी विद्रोहको दोष देउवा र कोइरालालाई लगाए

गगन र विश्वप्रकाशले कोशी विद्रोहको दोष देउवा र कोइरालालाई लगाए

काठमाडौँ : नेपाली कांग्रेसका दुवै महामन्त्रीले कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेर पनि कार्यान्वयन गर्न नसक्नुको दोष पार्टी सभापति शेरबहादुर देउवालाई लगाएका छन्।

एमालेको समर्थन र कांग्रेसका आठ सांसदको विद्रोहको आधारमा कोशीमा कांग्रेसका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएर एमाले र काङ्ग्रेसबाट एक-एक मन्त्रीसमेत नियुक्त गरिसकेका छन्। त्यही समस्याबारे छलफल गर्न देउवाले पार्टीका उपसभापति र महामन्त्रीलाई आफ्नो निवासमा बोलाएका थिए।

आफूहरूले कोशीमा धेरै समस्या देखिएपछि एमालेसहितको सर्वदलीय सरकार गठन गर्न सुझाव दिए पनि पार्टी सभापतिले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको र सो निर्णयको विरोधमा विद्रोहमा उभिएका पार्टीका सांसदहरूलाई रोक्न पनि असफल भएको भन्दै सबै दोष देउवालाई नै दिए।

उता कार्की मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेखर कोइरालासहित सहमतिमा पार्टी सभापतिले पनि हस्ताक्षर गरेकोमा समेत गगन थापा र विश्वप्रकाश शर्माले विमति जनाएका थिए।

गठबन्धन कायम रहनेबारे प्रचण्डसँग सहमति गर्दा कोइरालाले मात्र हस्ताक्षर गरे पुग्नेमा पार्टी सभापतिले समेत हस्ताक्षर गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए। काँग्रेसले सबै प्रदेशको नेतृत्व गर्ने हो बहुमत ल्याउनुपर्ने भन्दै उनले कोशीको नेतृत्व माओवादीलाई दिनै नसकिने भन्ने नभएको तर्क गरेका थिए।

माओवादीले कोशीको नेतृत्व दिन दुई पटक काँग्रेसलाई साथ दिएको तर पार्टीले माओवादीलाई नेतृत्व दिनेबारे निर्णय गरे पनि निर्णय कार्यान्वयनमा ल्याउन नसकेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए। दुवै महामन्त्रीले कोशीमा देखिएको राजनीतिक दृश्यमा संस्थापनइतर समूहका नेता शेखर कोइराला समेत दोषी रहेको धारणा राखेका थिए।

माओवादी केन्द्रले कोशीमा कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरिसक्दा काँग्रेसले भने निर्णय गरेको छैन। शर्माले सोमबारको बैठकमा पनि विश्वासको मतबारे छलफल नभएको बताए।

असोज २९, २०८० सोमबार २१:३१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।