फिल्म प्रमोसनमा उदार स्वस्तिमा

फिल्म प्रमोसनमा उदार स्वस्तिमा

काठमाडौँ : तोकिएको सेड्युल अनुसार फिल्मको सुटिङ सक्काउने चुनौती त छँदैछ, सुटिङसँगै फिल्मका सबै इन्डोरका काम सक्काएपछि पनि निर्माता अनि निर्देशक ढुक्क बस्न सक्दैनन्। अधिकांश कलाकारहरूले पारिश्रमिक लिइसकेका हुन्छन्। फिल्मका निर्मातालाई भने लगानी उठाउने वातावरण बनाउने चुनौती थपिन्छ।

त्यही बेला हो अधिकांश निर्माताहरूले कलाकारहरूबाट धोका खाने। दर्शकहरू कुन फिल्म कसले निर्माण गरेको भनेर हलसम्म जाने वातावरण बनेको छैन नेपालमा। केही निर्देशकसम्मलाई पत्याउन थालेका छन्।

फिल्म निर्माणको सबै काम सक्काएपछि फिल्म रिलिज नभएसम्म नै मुख्य चुनौती हो निर्माताको। यो बेलामा दर्शकसम्म फिल्म पुगेर हलसम्म आउने वातावरण बनाउन कलाकारहरूको महत्त्वपूर्ण भूमिका हुन्छ।

तर यही बेलामा कलाकारहरूले धोका दिएका धेरै घटना छन्। सार्वजनिक मञ्चबाटै निर्माता अनि निर्देशकले धोका दिने कलाकारको नामै सार्वजनिक समेत गरेका छन्।

यो मामिलामा अभिनेत्री स्वस्तिमा खड्का उदार देखिएकी छिन्। लिड रोल मात्र हैन सहायक अनि छोटो रोल भए पनि उनी फिल्मको प्रमोसनमा सहभागी भएर फिल्मबारे सकारात्मक माहौल बनाउन खटिन्छन्।

फिल्म ‘ऐँचो पैँचो’ मा उनको भूमिका लिड रोल थिएन, सहयोगी थियो। तर उनले फिल्म निर्माण टिमलाई फिल्म रिलिज अगाडि होस् या रिलिजपछि प्रमोसनमा निकै सघाइन्। निर्माण टिमले आयोजना गर्ने प्रेम मिटहरूमा सहभागी भइन् अनि फिल्मको हाइप क्रियट गर्न निर्माण टिमले छानेका मिडियाहरूमा अन्तर्वार्ता पनि दिन गइन्।

अहिले उनी पशुपतिप्रसाद-२ : भष्मे डनको प्रमोसनमा पनि उत्तिकै खटिएकी छिन्। सार्वजनिक भएका फिल्मका सामग्री अनि प्रमोसनमा कलाकारहरूले खुलाए अनुसार भष्मे डनमा आँचलको तुलनामा उनले महत्त्वपूर्ण भूमिका पाएको देखिन्छ तर उनको भूमिका छोटै छ।

देवी बनेकी उनी र भष्मेविचको सम्बन्धलाई ट्रेलरदेखिका प्रमोसनका सामग्रीमा जसरी प्रयोग गरिएको छ त्यसले पनि उनको भूमिका कस्तो हो भन्ने प्रस्ट्याइसकेको छ। त्यसमा चमत्कारिक ट्विस्ट एन्ड टर्नको सम्भावना देखिँदैन अहिलेसम्म।

फिल्ममा भष्मे डन बनेका विपिनपछि अभिनेता सौगात मल्ल महत्त्वपूर्ण भूमिकामा छन्। उनी फिल्मको प्रमोसनमा त्यति देखिएका छैनन्। तर स्वस्तिमा प्राय हरेक प्रमोसन कार्यक्रममा उपस्थित भइरहेकी छिन्। समय दिइरहेकी छिन्।

फिल्मबारे भ्याएसम्मको सकारात्मक जवाफ दिइरहेकी छिन् अनि सकारात्मक माहौल बनाउने प्रयास गरिरहेकी छिन्।

उनी फुर्सदमा भएकाले हिँडेको त हो नि भन्ने अवस्था पनि हैन अहिले। उनको अभिनय रहेको अनि श्रीमान् निश्चल बस्नेतले निर्देशन गरेको फिल्म दिमाग खराब पनि प्रमोसनको चरणमा प्रवेश गरिसकेको छ। फिल्ममा उनी लिड रोलमा पनि छिन्।

त्यसैले उनले अहिले फिल्म पशुपति प्रसाद-२ : भष्मे डनको प्रमोसनमा जसरी समय दिइरहेकी छिन् यो प्रशंसा लायक सहयोग हो फिल्म निर्माण अनि निर्देशकका लागि।

असोज २९, २०८० सोमबार २०:०५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।