दशैंमा कलाकार : केकी हलमा, शिव सांगीतिक कार्यक्रममा

दशैंमा कलाकार : केकी हलमा, शिव सांगीतिक कार्यक्रममा

काठमाडौं : आइतबार घटस्थापना गरेसँगै दशैं लागिसकेको छ। दशैंमा सबैका आ-आफ्ना सम्झना हुन्छन्।

अधिकांशलाई बाल्यकालै दशैं रमाइलो लाग्छ भन्ने गर्छन्। हाम्रा कलाकारहरूको दशैं चाहिँ कस्तो हुँदो रहेछ त?

उकेरासँग नेपाली सांगीतिक क्षेत्रका चर्चित एवं लोकप्रिय गायक शिव परियार र सुन्दरी एवं चर्चित नायिका केकी अधिकारीले आफ्नो दशैं सम्झना यसरी साटेका छन्।

‘दशैं त बच्चैको रमाइलो’
गायक शिव परियार
सानो हुँदाको दशैं एकदमै रमाइलो हुने रहेछ। १४–१५ वर्षको हुँदासम्म दशैं एकदमै रमाइलो लाग्थ्यो।

स्कुलले जीवनमा दशैं भन्ने बितिक्कै मासु चिउरा, नयाँ लुगा, रमाइलो मौसम, चारैतिरबाट साथीभाइ र आफन्तको भेट, कहिलै नदेखिएका, नभेटिएका मान्छेहरूको गाउँमा उपस्थिति, शहरबाट होस् या परदेशबाट आउँदाको समय बेग्लै रमाइलो हुन्थ्यो।
 
दशैं भन्ने बितिक्कै मेरो दिमाखमा बालापनमा देखेको कुराहरू खेल्ने गर्छन्। किनभने त्यो समय आफूलाई अभावभन्दा पनि रमाइलो लाग्थ्यो। दशैंमा घरमा दुई वटा खसी काटिन्थ्यो। आमाहरूले ढिकीका चिउरा कुट्न जानुहुन्थ्यो। ढिकीमा कुटेका चिउरा अति मीठा अनि रसिला हुन्थे।

तर, अहिले दशैं भन्ने ‘बितिक्कै लौन खर्च कसरी टार्ने होला ?’ भन्ने सोचाइ पहिल्यै आउँछ। पहिला आफूलाई अरूले नै किन्दिन्थे। अब अहिले त पहिला अरूलाई किन्नुपर्यो नि ! छोराछोरी लगायत सबैलाई कस्तो लगाउँछु भन्छन् त्यस्तै किन्दिनुपर्यो।

इष्टमित्र आएका हुन्छन् कसरी टार्ने होला भन्नेतिर नै ध्यान जाने रहेछ। बाल्यकालमा त त्यस्तो हुँदैनथ्यो नि !  जिम्मेवारी केही हुने कुरा भएन। खाली डिमाण्ड गर्ने त हो।

अहिले हरेक वर्ष दशैंको समयमा सांगितिक कार्यक्रममा व्यस्त हुन्छु। कहिले कता, कहिले कता भइरहने भएकाले दशैंको टीकाको दिन बाहेक अन्य दिन टीका लगाउनै पाइँदैन। यो पटक पनि यस्तै अवस्था छ।

दशैंमा नव दुर्गा भगवतीको ब्रत बस्छु म। भगवान बढी नै आस्थावान छु। हरेक वर्ष व्रत बस्छु।

‘यसपाली दशैं दर्शकहरूसँग’
अभिनेत्री, केकी अधिकारी
मेरो लागि दशैं सधैँ सम्झनलायक नै हुन्छ। मैले युवाअवस्थामा नै करियरलाई अगाडि बढाएको हो। यो अवस्थामा मैले पढाइलाई पनि निरन्तरता दिइरहेको थिएँ।

कहिल्यै पनि परिवारसँग बस्नका लागि भनेर समय निकाल्न सकिन। त्यही भएर दशैंमा अलिक समय छुट्टी मिल्थ्यो। छुट्टी पाउँदा स्पेशल हुने भइहाल्यो।

यसपालिको दशैं मेरा लागि विशेष नै हुने भएको छ। दशैंमै फिल्म ‘परदेशी २’ रिलिज हुँदैछ। दशैंको टीकाको दिन परिवारसँग हुनेछु। अन्य दिन फिल्मका दर्शकहरूसँग भेट्ने अनि कुराकानी गर्ने मौका मिलाउँदैछु।

अघिल्ला वर्ष चाडपर्वको समयमा परिवारसँग मात्र बिताइन्थ्यो। यसपटक भने फ्यानहरूसँग, फिल्मका दर्शकसँग भेटघाट गरेर बिताउने योजना छ।

असोज २९, २०८० सोमबार २१:१८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।