‘ड्रेसकोड’को विरोधमा युनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलीत, उपचार सेवा ठप्प हुँदा बिरामी मर्कामा

‘ड्रेसकोड’को विरोधमा युनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलीत, उपचार सेवा ठप्प हुँदा बिरामी मर्कामा

बुटवल : भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीहरु आन्दोलित हुँदा पढाई र उपचार सेवा प्रभावित भएको छ।

कलेज प्रशासनले विद्यार्थीहरुलाई ड्रेसकोड (सर्ट पाइन्ट) अनिवार्य गर्ने निर्णय गरेपछि सुरु भएको सामान्य विवादमा कलेजकी प्रिन्सिपल प्राध्यापक डा. लक्ष्मी पाठकले विद्यार्थीमाथि दम्भ देखाउदै दुव्र्यवहार गरेपछि विद्यार्थीहरुले आन्दोलन चर्काएका हुन्। 

आइतबार ड्रेसकोड मान्य नहुने भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच झडपको स्थिति समेत सिर्जना भएको थियो। 

त्यसपछि आन्दोलनलाई सशक्त रुपमा अगाडी बढाउने निर्णय गरेका एमबीबीएस र बीडीएसका विद्यार्थीहरुले आज देखि पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द गरेर रिले अनशन सुरु गरेका छन्। 

विद्यार्थीको आन्दोलनमा इन्टर्न डाक्टरहरुले पनि साथ दिएका छन्। विद्यार्थी र चिकित्सकहरुको आन्दोलनले बिरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन्। 

एमबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेपछि विद्यार्थीहरूले पुरुषको सर्टमा गोजी राख्नुपर्ने र महिलाको हकमा सर्ट पाइन्ट भन्दा कुर्तासुरवाल हुनुपर्ने माग डा. पाठकलाई राखेका थिए। 

तर, डा. पाठकले विद्यार्थीहरूको कुरा सुन्नै चाहिएनन्। यहि बिषय थप पेचिलो बन्दै गएपछि अहिले विद्यार्थीहरूले प्रिन्सिपल पाठकको राजीनामालाई प्रमुख ऐजेण्डा बनाएका छन्। 

त्यस बाहेक नयाँ ड्रेसकोड खारेज गर्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाइएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका मागहरु विद्यार्थीले राखेका छन् ।

आइतबार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भएपनि सहमती भने भएन्। तर सहमति विपरित प्रिन्सिपल पाठकलाई प्रहरीले भगाएको थियो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफूले समस्या समाधानका लागि सर्वदलीय, सर्वपक्षीय बैठक राखेर गरेको निर्णय अनुसार प्रिन्सिपल पाठकलाई विद्यार्थीको बन्धकबाट निकालिएको बताए। 

असोज २९, २०८० सोमबार १४:५५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।