‘किताबका किरा’हरूले दशैंमा यी पाँच पुस्तक पढ्ने कि!

‘किताबका किरा’हरूले दशैंमा यी पाँच पुस्तक पढ्ने कि!

हुन त दशैं आफन्त भेट्ने, रमाइलो गर्ने धार्मिक अनि सांस्कृतिक पर्व हो। तर, किताबका ‘किरा’हरूलाई के दशैं, के तिहार। पढौँ-पढौँ लागिहाल्छ।

त्यसैले दशैंका लागि बजारमा रहेका केही पुस्तकको अध्ययन गरी तपाईंहरूका लागि सिफारिस लिएर आएको छ उकेरा। यी पुस्तक तपाईंले पढिसक्नुभएको पनि हुनसक्छ। पढेको भए दोहोर्याउन अनि नपढेको भए पढ्न सकिन्छ।

१. ऐँठन : युद्ध विरोधी बलियो मत
२०७९ को मदन पुरस्कार विजेता बने लेखक विवेक ओझा। उनको पुस्तक ‘ऐँठन’ले मदन पुरस्कार हात पार्यो। युवा लेखक ओझाको यो तेस्रो कृति हो। उनको अघिल्लो उपन्यास ‘ऐलानी’ हो।

नागरिकका मुद्दा पुस्तक मार्फत सुन्दर शिल्पशैलीले लेख्न खप्पिस ओझाको वजनदार कृति हो ‘ऐँठन’।

राज्य पक्षबाट र तत्कालीन विद्रोही पक्षबाट मात्रै युद्ध साहित्यको बाढी आएर थामिएको बेला माओवादीको १० वर्षे सशस्त्र संघर्षलाई केन्द्रमा राखेर एक शिक्षकको परिवार कसरी उजाडियो अनि कसरी ऊ मानसिक रोगी बन्यो भन्ने विषयमा केन्द्रीत छ उपन्यास।

उपन्यास पढिसकेपछि लेखक ओझाले परिकल्पना गरेको अस्पताल भैदिए कस्तो होला भन्ने लागिरहन्छ पाठकलाई। अनि महाभारतको युद्धदेखि, प्रथम, द्धितिय विश्वयुद्ध र जापानको हिरोसिमा नागासिकीको बम प्रहार बनाएर ध्वस्त बनाइएको शहरको कहरसम्मका विषय पुस्तकम समेटिएका छन्।

उनले साहित्यमार्फत युद्धकै विरोध गरेका छन्। पुस्तक पढ्दा ‘क्रान्तिका लागि युद्ध आवश्यक छ’ भन्ने मतमा सहमत हुनेहरूले पुनर्विचार गर्न सक्छन्।

२. हाँडीगाउँ : प्राचीन नेपालको एक राजनीति
पेशाले इन्जिनियर रहेका इतिहासकार सुर्दशनराज तिवारीको अनूदित पुस्तक ‘हाँडीगाउँ’ इतिहासबारे रूचि राख्नेहरूका लागि उचित पुस्तक हुनसक्छ।

लेखकले पुस्तकमा किराँत राज्य थियो भन्ने बलियो प्रमाण, हिन्दु र बौद्ध धर्मलम्बीहरूबीच धार्मिक द्वन्द्व भएको थियो भन्ने दाबी, हाँडीगाउँको जात्रा कसरी अहिलेसम्म टिक्यो भन्ने प्रसङ्ग र मिथकसँगै ऐतिहासिक दस्तावेज समेटेर पुस्तक तयार पारेका छन्।

३. ओ पेङ्दोर्जे : आङै सिरिङ हुने बनाउने कविता
कवि राजु स्याङ्तानको उम्दा कविता संग्रह हो ‘ओ पेङ्दोर्जे’। माओवादी युद्धमा समेत सहभागी भएका कविले फेरिएका प्रचण्डबारे लेखेको कविताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दरो व्यंग्य कसेको छ।

तामाङ जातिमार्फत जनजातीको पहिचानको पक्षमा खरो उत्रिएका छन् उनी। कविताको शिल्पसँगै बलियो भावसमेत छ। उनका कविता पढ्दा आङै सिरिङ हुने खालका छन्।

४. अन्तर : ह्यापी इन्डिङ समेटिएको समलिङ्गीको कथा
लेखक रमेश सायनको कृति ‘अन्तर’ एक समलिङ्गी पुरुषको कथामा आधारित उपन्यास हो। उपन्यासको प्रमुख पात्र समलिङ्गी हुन्छन्। उनको आन्तरिक संघर्षलाई लेखकले रोमाञ्चक तरिकाले चित्रित गरेका छन्। उनले उपन्यासलाई ‘ह्याप्पी इन्डिङ’ गराएका छन्।

५. राजा, राणा र कांङ्ग्रेस : तटस्थता सिकाउने पुस्तक
इतिहासकार नयराज पन्तको डायरी हो ‘राजा, राणा र कांङ्ग्रेस’। इतिहासकार पन्तले २००७ साल कात्तिकदेखि २००८ सालको बीचमा लेखेको डायरी समेटिएको छ पुस्तकमा।

संस्कृत भाषामा पन्तले लेखेको पुस्तक पन्तका छोरा महेशराज पन्तले नेपालीमा अनुवाद गरेका छन्।

त्यति बेलाको राजनीतिलाई केन्द्रबिन्दुमा राखेर लेखेका पन्तको दृष्टिकोण तटस्थ देखिन्छ। तटस्थताको नाममा एउटा पार्टीको फेरो समात्ने बानी लागेकाहरूका लागि पुस्तक बलियो खुराक हुनसक्छ।

असोज ३०, २०८० मंगलबार १५:१४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।