एनआरएनको नेतृत्व लिन पाँच जना मैदानमा, दलको समर्थन लिन दौडधुप

एनआरएनको नेतृत्व लिन पाँच जना मैदानमा, दलको समर्थन लिन दौडधुप

काठमाडौँ : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को ११ औँ महाधिवेशनबाट नेतृत्वमा आउन पाँच जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनएमा अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ।​

असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि बद्री केसी, रविना थापा, महेश श्रेष्ठ, आरके शर्मा र विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

महाधिवेशनका लागि अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन भएको छ। महाधिवेशनमा सहभागी हुन नेपाल आएकाहरूले मतदानस्थलमा रहने कम्प्युटरमार्फत र नेपाल नआएकाहरूको हकमा अनलाइन मतदानको प्रबन्ध गरिएको छ।

७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्न हुने निर्वाचनकालागि चार हजार दुई सय २७ अन्तर्राष्ट्रिय प्रतिनिधिको चयन भइसकेको छ।

यस अगाडिको दसौँ महाधिवेशनमा विवाद हुँदा कुल आचार्य, रविना थापा र बद्री केसीले ६-६ महिना कार्यकारी अध्यक्ष हुने गरी सहमति भएको थियो। यीमध्ये केसी र थापाले ११ औँ महाधिवेशनमा पनि उम्मेदवारी घोषणा गरेका छन्।

नेपाल बाहिर रहेका नेपालीहरूलाई सङ्गठित गर्न खुलेको संस्था पछिल्लो समय तीव्र राजनीतिकरणका कारण प्रभावहीन बन्दै गए पनि यस पटक पनि उम्मेदवारहरू राजनीतिक दलको समर्थन लिएर उम्मेदवार हुने दौडधुपमा देखिएका छन्। सत्ता घटक र प्रमुख प्रतिपक्षी दलको समर्थन जुटाउन उम्मेदवारहरुविच प्रतिस्पर्धा देखिन्छ।

उपाध्यक्षमा अभिमानसिंह बस्नेत, गंगाधर गौतम, रोविनप्रसाद शेरचन, गोविन्दप्रसाद श्रेष्ठ, राजु रेग्मी, रामशरण सिम्खडा, डा. केशव पौडेल, नारायणप्रसाद आचार्य, खगेन्द्र न्यौपाने, जेदुनाथ पोखरेल, चिरञ्जीवी घिमिरे, विजय मोक्तानले उम्मेदवारी दिएका छन्।

महिला उपाध्यक्षमा यसिमा बेगम सैयद, युवा उपाध्यक्षमा अब्दुल वासिद र रोशन थापा उम्मेदवार बनेका छन्। सोमनाथ सापकोटा, कृष्णजगनाथ गिरी, प्रमोद सिटौला, प्रवीण गुरुङ, सन्तोषकुमार भट्टराईले उपमहासचिवमा उम्मेदवारी दिएका छन्।

सचिवमा दयानिधि सापकोटा, प्रकाश सापकोटा, टङ्कप्रसाद गैरे, राजेन्द्रप्रसाद पुडासैनी, रामजी पोखरेल, पारसमणि पोखरेल, मनोज श्रेष्ठ, यज्ञराज सुवेदी, महिला सचिवमा राधिका गुरुङले उम्मेदवारी दिए। 

को कता देखिए ?

बाहिर राजनीतिक दलको हस्तक्षेपको विरोध गरे जस्तो देखाए पनि एनआरएनको निर्वाचन प्राय राजनीतिक प्रभावबाटै सञ्चालित हुने गरेको देखिन्छ। यस अगाडिको नेत‌ृत्व पनि दलको समर्थनबाटै चयन हुने गरेका थिए। पूर्व अध्यक्षहरु समेत दलकै आधारमा विभाजित हुने गरेका छन्।

यस पटक पनि त्यही दृष्य दोहोरिने निश्चित छ। अजेण्डाका आधारमा भन्दा पनि उम्मेदवारहरु दलको उम्मेदवारको रुपमा प्रतिष्पर्धामा उत्रिएका छन्। यस्ता संगठनलाई राजनीतिबाट अलग राख्नुपर्ने बताउँदै आएको राष्ट्रिय स्वतन्तन्त्र पार्टीका नेताहरुले समेत एनआरएन महाधिवेशनमा चासो राख्दै आकांक्षीहरुसँग भेटिरहेका छन्।

महेश श्रेष्ठ सत्ता घटकबाट साझा उम्मेदवार बन्ने प्रयासमा रहेको देखिन्छ। उनी नेपाली काँग्रेस निकट हुन्। माओवादी केन्द्रबाट आरके शर्मा पनि मैदानमा छन्। रविना थापा पनि काँग्रेस निकट एनआरएन नेताको रुपमा परिचित छिन्।

डा बद्री केसीलाई एमालेले साथ दिइरहेको छ। विनय अधिकारी पनि मैदानमा छन्।

असोज २९, २०८० सोमबार १४:३४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।