नवरात्रको दोस्रो दिन : इन्द्रियमाथि विजय प्राप्त गर्न ब्रह्मचारिणीको आराधना

नवरात्रको दोस्रो दिन : इन्द्रियमाथि विजय प्राप्त गर्न ब्रह्मचारिणीको आराधना

काठमाडौं : ब्रह्म शब्दका धेरै अर्थ छन्। तीमध्ये तपस्या पनि ब्रह्म शब्दको एउटा अर्थ हो। ब्रह्मचारिणी भनेको ‘तपस्या गर्ने स्त्री’ भन्ने अर्थ हुन्छ। दुर्गाको सन्दर्भमा देवीको तपस्यारत अवस्थालाई ब्रह्मचारिणी भनिएको हो।

ब्रह्मचारिणी हिमालयपुत्री पार्वतीकै एउटा रूप हो। भगवान शंकरको सान्निध्यका लागि यिनले नारदका उपदेशले हजारौँ वर्ष तपस्या गरेको उल्लेख पाइन्छ। तपस्याका क्रममा यिनले एक हजार वर्ष फलाहार मात्र गरेर बिताएकी थिइन्।

सय वर्ष साग मात्र खाएर तपस्या गरेकी थिइन् भने तीन हजार वर्ष आफैँ भुईंमा झरेर सुकेका बेलपत्र खाएर तपःसाधना गरेकी थिइन्। तपस्यालाई अझ कठोर बनाउँदै यिनी हजारौँ वर्षसम्म निराहार रही शिवजीको ध्यानमा मग्न रहिन्।

खुला आकाशमुनि वर्षा र गर्मी सहेर यिनले कठोर तपस्या गरेको प्रसंग पुराणहरूमा वर्णित छ। पौराणिक कथनअनुसार पात (पर्ण)समेत नखाइ निराहार तपस्या गरेकी हुनाले यिनको नाम अपर्णा रहन गएको हो।

तपस्याको प्रभावले यिनी शिवकी शक्तिका रूपमा स्थापित भएकी हुन्। तपोमय अवस्थाकी यिनै दुर्गा भवानी ब्रह्मचारिणी हुन्।

ब्रह्मचारिणीलाई देदीप्यमान् आभा भएकी, साधारण तर उज्ज्वल वेषभूषाले युक्त, दायाँ हातमा जपमाला र बायाँ हातमा कमण्डलु धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ। यिनी सौम्य र शान्त रूपकी देवी हुन्। नवदुर्गाको दोस्रो दिन यिनै ब्रह्मचारिणीको पूजा–आराधना हुन्छ।

पूजाविधि 

नवरात्रको दोस्रो दिन घटस्थापनाका दिनजस्तै स्नान–सन्ध्या आदि नित्यकर्म सकेर पूजास्थलमा गइन्छ। पूजासामग्री तयार गरेर दीप, कलश, गणेश र अन्य आवाहित/स्थापित देवीदेवताको पूजा गरिन्छ। 

दोस्रो दिन प्रधान देवताका रूपमा ब्रह्मचारिणीको पूजा हुन्छ। सम्भव भए षोडशोपचार र नभए आफूसँग जे-जति सामग्री उपलब्ध छन् तिनैले स्थापना गरिएको घटमा ब्रह्मचारिणीको पूजा गरिन्छ। पूजाका अन्त्यमा मास, चामल र दहीको अथवा कुभिन्डाको बलि दिइन्छ।

ब्रह्मचारिणीको आराधना गर्नाले इन्द्रियमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने शास्त्रीय मान्यता छ। त्यसैगरी धैर्य, तपस्या, त्याग, वैराग्य, सदाचार, संयमजस्ता आन्तरिक गुणको विकास पनि ब्रह्मचारिणीको आराधनाबाट प्राप्त गर्न सकिन्छ। कठिन परिस्थितिको सामना गर्न सक्ने दृढता पनि यिनका कृपाले प्राप्त हुन्छ।

असोज २९, २०८० सोमबार ११:२६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।