इजरायलमा घाइते भएका प्रविण ६ महिनाको उपचार पछि मात्रै नेपाल फर्कने, परिवार  चिन्तित

इजरायलमा घाइते भएका प्रविण ६ महिनाको उपचार पछि मात्रै नेपाल फर्कने, परिवार  चिन्तित

बुटवल : इजराइल-हमासबीचको हमलामा परी घाइते भएका दाङ दंगिशरण गाउँपालिका-३, हेकुलीका प्रवीण डाँगी इजरायलबाट ६ महिना पछि मात्रै नेपाल फर्कने भएका छन्। 

नेपाल सरकारले इजरायलमा फसेका विद्यार्थीहरुलाई उद्दार गरी स्वदेश ल्याउनका लागि अनलाइन फाराम भर्न आग्रह गरेको थियो। तर बम आक्रमणमा परी घाइते भई अस्पतालमा उपचाररत प्रविणले घर आउनका लागि फारम भर्न पाएनन्। 

घाइते अवस्थामा रहेका उनको उपचार जारी छ। प्रवीणका बुवा निमबहादुर डाँगीले छोराले ६ महिनापछि मात्र घर आउँने जानकारी दिएको बताए। 

उनले छोरा प्रवीणको उपचारमा संलग्न चिकित्सकसंग पनि कुरा भएको बताउँदै भने, ‘छोरासंग र डाक्टरसंग कुरा हुँदा ६ महिना यहीँ राख्नुपर्छ भनेर भन्नुभएको छ। यो सुन्दा धेरै डर लागेको छ। ६ महिनासम्म इजारायलमा अब कुनै अप्रिय घटना नघटोस।’ 

६ महिना पछि घर फर्कने खबर पाएपछि डाँगी परिवारमा छोरा जटिल घाइते भएको आशंका छ। त्यसोत प्रविणले आफ्नो उपचार राम्रोसँग भइरहेकाले परिवारलाई केही चिन्ता नलिन सम्झाइरहेका छन। 

निमबहादुरले छोरा प्रविणलाई बिएस्सी एजी पूरा गरेपछि गत भदौ २६ गते  सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायको ‘अर्न एन्ड लर्न प्रोग्राम’ पठाएका थिए।

इजरायल पुगेको एक महिनामै गत शनिवार प्यालेष्टाइन विद्रोही समूह ‘हमास’ले गरेको आक्रमणमा परि प्रविण घाइते भएका थिए।  

प्रविणलाई खुट्टामा चोट लागेको छ। केही समय सम्पर्कविहिन भएका उनी पछि परिवारको सम्पर्कमा आएका थिए।

प्रवीणका बुबा निमबहादुर डाँगी शिक्षक हुन।  प्रवीण परिवारका कान्छा छोरा हुन। 

असोज २८, २०८० आइतबार १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।