चालु आर्थिक वर्षमा निगमकाे लागि दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती

चालु आर्थिक वर्षमा  निगमकाे लागि दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
फाईल फोटो

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा नेपाल वायुसेवा निगमका लागि दस वटा जहाज खरिद गरिने बताएका छन्। 

आइतबार आज मन्त्री निवास पुल्चोकमा नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै उनले एयरलाइन्सका लागि १० वटा राष्ट्रिय ध्वजाबाहक जहाज थपेर भाडादरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको उल्लेख गरे।

दसैँअघि नै विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री किरातीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन दस वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको औंँल्याए।  

निगम आन्तरिक उडानका लागि तीन वटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा छ। ती जहाज निगमको आन्तरिक स्रोतबाटै खरिद गर्नेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमले जनाएको छ। 

निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्वीनअटर जहाज मात्रै छन्। ती जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्दै आएका छन्। 

पर्यटनमन्त्री किरातीले आजैदेखि बाँकेको नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसँैभरी सञ्चालन गर्ने समेत जानकारी दिए।

चाडवाडका बेला हुने कालोबजारी नियन्त्रण गर्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल र समन्वय गर्ने उनको भनाई थियो। 

असोज २८, २०८० आइतबार १३:३७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।