आर्थिक क्षेत्रलाई थप गति दिन के गर्ने भनेर सरकार लागिरहेको छ : अर्थमन्त्री महत
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक क्षेत्रलाई थप गति दिन के गर्ने भनेर सरकार लागिरहेको बताएका छन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी भएर शनिबार स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालको अर्थतन्त्रलाई गति दिने विषयमा थप कुनै प्रयास थाल्नुपर्ने आवश्यकता महसुस भएमा सरकारले त्यसको निर्णय लिनसक्ने पनि बताए।
‘अहिले देखिएका समस्या तत्काल सिर्जित होइनन् र यी समस्या एकै झट्कामा समाधान पनि हुँदैन। क्रमशः सुधारका प्रयासका नतिजा देखिँदै गएका छन्। आर्थिक क्षेत्रलाई थप गति दिन के गर्ने भनेर सरकार लागिरहेको छ,’ महतले भने।
साथै उनले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने बताए। आर्थिक र मौद्रिक नीतिमा दातृ निकायसँग नेपालको दृष्टिकोण मिल्नैपर्छ भन्ने नरहेको उनले उल्लेख गरे।
‘हामीले अवलम्बन गर्ने नीति र उहाँहरूको बुझाइ एउटै नहुन सक्छ। हामी आफ्नो विशिष्ट खालको नीति लिएर अगाडि बढ्नेमा उहाँहरू पनि सहमत हुनुहुन्छ,’ महतले भने।
दातृ निकाय र विकास साझेदारहरूले मौद्रिक नीतिमा हस्तक्षेप गरेको र नेपालको परिवेश नसुहाउने व्यवस्था जबर्जस्ती लागू गर्न खोजेको भन्ने आरोप निजी क्षेत्रले लगाउँदै आएको छ।
असोज २८, २०८० आइतबार १३:२१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।