विश्वकप क्रिकेट : भारत-पाकिस्तानबीचको खेलका क्रममा ‘जय श्री राम’को नारा लागेपछि...
एजेन्सी : भारतमा जारी आईसीसी एकदिवसीय विश्व कप क्रिकेट अन्तर्गत शनिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हरायो।
यो खेल हेर्न स्टेडियममा एक लाखभन्दा बढी मानिस उपस्थित थिए । खेलका क्रममा स्टेडियममा ‘जय श्री राम’को नारा लगाइएको थियो।
त्यसक्रममा पाकिस्तानी स्टार क्रिकेटर मोहम्मद रिजवान लगायत धेरै पाकिस्तानी क्रिकेटरले आलोचनाको सामना समते गर्नुपर्याे।
नारा लगाइएकोप्रति तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनका छोरा उदयनिधि स्टालिन समेत आक्रोशित भएका थिए। उनले यो नाराप्रति कडा आपत्ति जनाएका छन्। उदयनिधिले एक्समा एक पोस्ट गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरे।
उदयनिधिले एक्समा लेखेका छन्, ‘भारत आफ्नो खेलकुद भावना र आतिथ्यताका लागि प्रसिद्ध छ। तर, अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पाकिस्तानी खेलाडीलाई दिइएको व्यवहार अस्वीकार्य र तल्लो स्तरको छ। खेलकुद राष्ट्रहरूबीच एकताको शक्ति बन्नुपर्दछ। साथै, साँचो भाइचारालाई बढावा दिनुपर्छ। यसलाई घृणा फैलाउन हतियारको रूपमा प्रयोग गर्नु निन्दनीय छ।’
यस बाहेक खेलका क्रममा इजरायल र हमासबीचको युद्धसँग सम्बन्धित पोस्टर पनि सार्वजनिक गरिएको थियो।
अहमदाबादमा भारतसँग पाकिस्तान ७ विकेटले पराजित भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानी टोली ४२.५ ओभरमा १९१ रनमा सिमित भएको थियो।
कप्तान बाबर आजमले ५० रन र मोहम्मद रिजवानले ४९ रनको इनिङ खेले। जवाफमा भारतले ३०.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। कप्तान रोहित शर्माले ८६ रन बनाए।
योसँगै एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानलाई लगातार आठौं पटक पराजित गरेको छ। अब भारतले अक्टोबर १९ मा बंगलादेशसँग पुनेमा खेल्नेछ। पाकिस्तानी टोलीले अक्टोबर २० मा चिन्नास्वामीमा अस्ट्रेलियासँग खेल्नेछ।
असोज २८, २०८० आइतबार १२:४४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।