यू-१९ प्रिमियर कप : बहराइनलाई ७ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक

यू-१९ प्रिमियर कप : बहराइनलाई ७ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक

काठमाडौं : बहराइनलाई ७ विकेटले हराउँदै नेपाल एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ। 

मलेसिया जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न नेपालले आज सानदार बलिङ गर्यो। दीपेश कंडेलले  ६ विकेट लिएपछि ३७.५ ओभर टिके पनि बहराइन ७७ रनमै अलआउट भएको थियो।

जितको लागि ७८ रनको सहज लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा कप्तान देव खनालले ३२ र अर्जुन कुमालले ३२ रनको योगदान दिए।

सहज लक्ष्य भए पनि खराब सुरुवात गरेको नेपालले मात्र १० रनमा ३ विकेट खेर फालेको थियो।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनलाई सस्तैमा समेट्न दीपेशले ९.५ ओभर बलिङ गर्दै ८ मेडनसहित मात्र ४ रन दिएर ६ विकेट लिएका थिए।

त्यसैगरी दुर्गेश गुप्ताले ८ ओभरमा २२ रन दिएर ४ विकेट लिए।

बहराइनका लागि महोमद बसिलले सर्वाधिक ३४ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हराएको थियो। १६ टिम सहभागी यस प्रतियोगितामा नेपालले समूह चरणमा अब साउदी अरेबियासँग भिडन्त गर्नेछ।

चार समूहबाट शीर्ष एक/एक टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् भने  प्रतियोगिताका शीर्ष ३ टोलीले यसै वर्ष हुने यू-१९ एसिया कप खेल्न पाउनेछन्।

भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भइसकेका छन्।

यू-१९ विश्वकपका लागि पनि छनोट भइसकेको नेपाललाई यो प्रतियोगिताको उपाधिको प्रबल दाबेदारको रुपमा हेरिएको छ।

असोज २८, २०८० आइतबार १२:२०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।