इजरायल-हमासबीच युद्ध जारी : ज्यान गुमाउनेको सँख्या ३ हजार ५ सय नाघ्यो, भेटिएनन् कन्चनपुरका विपिन

इजरायल-हमासबीच युद्ध जारी : ज्यान गुमाउनेको सँख्या ३ हजार ५ सय नाघ्यो, भेटिएनन् कन्चनपुरका विपिन

काठमाडौं :  इजरायल र गाजा पट्टीमा प्यालेस्टाइनको वास्तविक सरकार हमासको नेतृत्वमा रहेको प्यालेस्टिनी लडाकु समूहहरूबीच चलिरहेको सैन्य संघर्ष जारी रहेको छ। 

गत शनिबार (अक्टोवर ७) मा  गाजा पट्टीबाट कम्तिमा तीन हजार रकेटहरूको रकेट ब्यारेजको साथ इजरायल विरुद्ध प्रक्षेपण गरिएसंगै युद्ध सुरु भएको थियो।  

इजरायल–हमासमा परी ज्यान गुमाउनेको सङ्ख्या दिनदनै बढ्दो छ।  दुवैतर्फ गरी हालसम्म तीन हजार पाँच सय जनाबढिले ज्यान गुमाइसकेको बताइएको छ। 

इजरायली आक्रमणमा परी २ हजार २ सय १५ जनाको ज्यान जानुका साथै ८ हजार ७ सय १४ जना घाइते भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

त्यस्तै, राष्ट्रसंघले गाजामा १ हजार ३ सय भवन ध्वस्त भएको जनाएको छ।  ५ हजारभन्दा बढी हाउजिङ युनिट र ३ हजार ७ सय ५० घर बस्न नसक्ने गरी क्षति भएको राष्ट्रसंघको तथ्यांक छ।

उता हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङ्ख्या एक सय जना विदेशीसहित १ हजार ३ सय जना पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

उक्त आक्रमणमा नेपाली विद्याथीहरु पनि परेका थिए। इजरायल हमास युद्धमा १० जना विद्यार्थी मारिएका थिए। 

इजरायलको अवीवस्थित नेपाली दुतावासका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र मधुवन-१, सुनसरीका राजेशकुमार स्वर्णकार हरेका छन्। 

यसैगरी पाँचनली-डोटीका राजन फुलारा, लामिखाल-८ डोटीका पदम थापा, सारदा-३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ।

हमास विद्रोहहरुको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी कन्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ। उनको खोजी कार्य जारी राखिएको छ। 

आक्रमणमा चार जना नेपाली विद्यार्थी घाइते भएका थिए। अहिले दुई जना डिस्चार्ज भइसकेका छन्। भने दुई जनाको उपचार जारी रहेको दुतावासले जनाएको छ। 

परराष्ट्र मन्त्रालयको पहलमा २ सय ५३ जनालाई गत बिहिबानर नेपाल ल्याइएको थियो। इजरायलमा रहेका अन्य दुई सय जनाले नेपाल फर्कन चाहेको र उनीहरुलाई नेपाल ल्याउन  पहल भइरहको मन्त्रालयले जनाएको छ। 

मन्त्री नारायण प्रकाश साउदका अनुसार इजरायलमा ४ हजार ५ सय  नेपाली केयर गिभरका रूपमा कार्यरत छन्। अन्य २ सय ६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौमा त्यँहा गएका थिए।  

जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए।

असोज २८, २०८० आइतबार ११:२२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।