उषाका दृष्टिकोणमा ‘ओभर रेडेट’ कलाकार राजेश हमाल २४ घन्टा नबित्दै भए ‘महानायक’
काठमाडौं : कोही व्यक्तिबारे कानुनको अधीनमा रहेर आफूलाई लागेको धारणा सार्वजनिक गर्नु लोकतान्त्रिक समाजमा सामान्य हो। सर्त यति हो कि त्यो कानुनको परिधिभित्र भने रहनुपर्छ।
तर नेपालमा केही पात्रहरू छन् जसबारे सामान्य टिप्पणी गर्दा सार्वजनिक आलोचना भइहाल्छ। उनीहरूबाट आउने टिप्पणी कानुनको परिधिभित्र रहन्न। मानसिक तनावकै चरणमा पुर्याउने खालको हुन्छ।
त्यस्तै पात्रहरू मध्येका एक हुन अभिनेता राजेश हमाल।
हमाल कमजोरीसहितका अभिनेता हुन्। तर आफ्नो समयका सुपरस्टार रहेका उनको सामान्य आलोचना पनि निकै जोखिमयुक्त हुन्छ।
राजेशबाटै त टिप्पणीबारे केही प्रतिक्रिया आउन्न। तर उनका फ्यानलाई झेल्न लर्तरो आत्मबलले सकिन्न। जो जसले हमालको कमजोरी वा महानायकबारे प्रश्न गर्यो त्यो संकटमा पर्यो।
अभिनेत्री उषा रजकले शनिबार प्रसारित ‘आम्मा कसम याँ दुख्छ’ कार्यक्रममा प्वाक्क हमालबारे बोलिहालिन्। कार्यक्रम सञ्चालक विक्की अग्रवालले ओभर रेटेड कलाकार अर्थात् क्षमताभन्दा बढि लोकप्रिय कलाकारबारे सोध्दा उनले राजेश हमालको नाम लिएकी थिइन्। उनले हमालको कमजोर नृत्य कौसल र कमजोर अभिनयबारे टिप्पणी गरिन्।
उनको टिप्पणी उनको व्यक्तिगत मत थियो। कसैलाई राजेश हमाल महान नायक लाग्नु सामान्य हो भने कसैलाई त्यही व्यक्ति कमजोर लाग्नु पनि सामान्य नै हो। कानुनी परिधिबाट हेर्ने हो भने उनको टिप्पणी दण्डलायक पनि हैन। चरित्रहत्या पनि हैन।
नृत्य कौसल कमजोर भएकै कलाकार हुन् उनी। अहिलेको अवस्थामा अभिनय कला कमजोरै भएका कलाकार हुन् राजेश।
तर अभिनयको दृष्टिमा भने अहिलेको अवस्थाको आधारमा नभइ उनी सक्रिय रहेको समयको आधारमा गर्दा न्यायपूर्ण हुने थियो।
हमालको लोकप्रिय डायलग ‘हे....शंकर हुँ शंकर’ अहिले सुन्दा हाँसो थाम्न गाह्रो हुनसक्छ। तर त्यो बेलाको समाजमा त्यसैको क्रेज थियो।
नेपाली कला क्षेत्रको एक युगै धानेका कलाकार हुन् उनी। त्यो बेलामा उनी सुपरस्टार हुन्। दर्शकले रुचाएका कलाकार हुन्। उनले एक युगको प्रतिनिधित्व गरे पनि टिप्पणी नै गर्न नपाइने भन्ने हुन्न। तर उनका फ्यानका लागि यो सह्य हुँदै हुँदैन। बोल्यो कि पोल्यो भइहाल्छ।
त्यसैले त उषा आफ्नो टिप्पणीमा २४ घन्टा पनि अडिग रहन सकिनन्। शनिबार बेलुका कार्यक्रम प्रशारण भयो, आइतबार बिहानै माफी आइहाल्यो उनको।
हालसालै अनुप बराल र दिया मास्केबारे टिप्पणी लेख्दा आइरहेको गालीमा हमाल थपिएपछि गाह्रो भयो उनलाई।
उनले कमेडी कार्यक्रममा गरिएको टिप्पणीलाई गम्भीरतापूर्वक लिइँदैन भनेर बोलेको, हमालको योगदानबारे पनि बोलेको तर ती दृष्य काटिएको भन्दै माफी मागिन्।
जायज टिप्पणी हो भने आलोचना भएकै आधारमा माफी माग्नु जायज हैन। यदि उनको दृष्टिकोणमा हमाल ओभररेटेड कलाकार हैनन् भने सार्वजनिक कार्यक्रममा बोल्नु उनको कच्चापन हो।
हिजोका घटनाक्रमले देखाउँछ, उनलाई गाली गर्नेहरूले माफी माग्दैमा माफ दिनेवाला भने छैनन्। ओभररेटेड विश्लेषण अब उषासँग सधैं जोडिने पक्का छ।
उनको माफीनामा यस्तो छ:
म, उषा रजक, हाम्रा वरिष्ठ अभिनेता राजेश हमालजीसँग माफी माग्न चाहन्छु।
मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन। वहाँको बौद्धिकताबाट प्रेरित मैले हाम्रा महानायकको बारेमा, उहाँको महान कार्य र राजेशजीको योगदानहरूको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ तर दुर्भाग्यवश ती अभिव्यक्तिहरू डिजिटल तारहरूबीच कहीं कतै हराए।
अरू कसैलाई दोष नदिइ, कुनै बहाना नबनाउँदै म मनदेखि माफी माग्दछु। आखिर शब्द मेरै हुन् : मैले भनेको कुराको लागि म आफैं माफी माग्दछु।
असोज २८, २०८० आइतबार ११:२९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।