दीपेशले मात्र ४ रन दिएर ६ विकेट लिए, ७७ रनमै अलआउट भयो बहराइन
काठमाडौं : नेपालको धारिलो बलिङसामू यू-१९ प्रिमियर कप क्रिकेटमा बहराइन सस्तैमा समेटिएको छ। दीपेश कंडेलले ६ विकेट लिएपछि ३७.५ ओभर टिके पनि बहराइन ७७ रनमै अलआउट भयो।
मलेसियामा भएको खेलमा टस हारेर नेपालले पहिले बलिङ गरेको थियो। जहाँ दीपेशले ९.५ ओभर बलिङ गर्दै ८ मेडनसहित मात्र ४ रन दिएर ६ विकेट लिए।
त्यसैगरी दुर्गेश गुप्ताले ८ ओभरमा २२ रन दिएर ४ विकेट लिए।
बहराइनका लागि महोमद बसिलले सर्वाधिक ३४ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हराएको थियो। १६ टिम सहभागी यस प्रतियोगितामा नेपालले समूह चरणमा अब साउदी अरेबियासँग भिडन्त गर्नेछ।
चार समूहबाट शीर्ष एक/एक टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् भने प्रतियोगिताका शीर्ष ३ टोलीले यसै वर्ष हुने यू-१९ एसिया कप खेल्न पाउनेछन्।
भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भइसकेका छन्।
यू-१९ विश्वकपका लागि पनि छनोट भइसकेको नेपाललाई यो प्रतियोगिताको उपाधिको प्रबल दाबेदारको रुपमा हेरिएको छ।
असोज २८, २०८० आइतबार १०:४७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।