दसैं लागेसँगै भक्तपुरमा कुमारी र तलेजु जात्रा सुरु

दसैं लागेसँगै भक्तपुरमा कुमारी र तलेजु जात्रा सुरु

भक्तपुर : दसैंको नवरात्र सुरु भएसँगै भक्तपुरमा कुमारी एवं तलेजु जात्रा सुरु भएको छ।

जीवित देवीका रूपमा मानिने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आज (आइतबार) बिहान कुमारी घर भित्र्याइएको छ। कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको हो।

घटस्थापनादेखि दसैंभर कुमारीलाई कुमारीघरमा विराजमान गराई कुमारी जात्रा मनाइने परम्परा अनुसार कुमारीलाई  तान्त्रिक विधिअनुसार पूजा गरी भक्तपुर नगरपालिका क्वाठण्डौंस्थित कुमारी घरमा विराजमान गराई पूजा गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद, सामवेद र चण्डी पाठ गरी राजोपाध्याय र कर्माचार्यले कुमारीको पूजा गरी कुमारी जात्रा मनाइने उनले बताए। यो अवधिमा टिबुक्छेंमा रहने ११ जना गणकुमारीको समेत तलेजु ल्याएर पूजा गरिन्छ।

दशमीको दिन कुमारीको हातबाट तलेजुका पुजारी, मूल नाइके लगायतलाई साइतको टीका लगाइदिएपछि सर्वसाधारणका लागि कुमारीले टीका लगाइदिने परम्परा छ। सोही दिन कुमारीले कुमारी घरबाट आफ्नै जन्मघर जाने इच्छा प्रकट गरेपछि घर लैजाने परम्परा रहेको छ।

त्यसैगरी नेपालकै मूल तलेजुका रुपमा लिइने भक्तपुर तलेजुमा बैद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दसैंघरमा पाञ्चायन निर्णायक समितिले निर्धारण गरेको शुभसाइतमा जमरा राखिन्छ। 

तलेजुमा सप्तमीदेखि दशमीसम्म तलेजु जात्रा मनाइन्छ भने सप्तमीदेखि महानवमीसम्म ५४  बोका, ३२  राँगा र २४ हाँसको बलि दिइ कालरात्रि गरी जात्रा मनाइने गरिन्छ।

असोज २८, २०८० आइतबार १०:३२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।