काेशीका मुख्यमन्त्री कार्कीले शपथ लिदै, कस्तो बन्दैछ मन्त्रिमण्डल?

काेशीका मुख्यमन्त्री कार्कीले शपथ लिदै, कस्तो बन्दैछ मन्त्रिमण्डल?
फाईल फोटो

काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। 

एमाले र काग्रेसको शेखर कोइराला पक्षको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीको शपथको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

कार्कीलाई एमालेका ३९ र नेपाली कांग्रेस शेखर कोइराला समूहका ८ जना गरी ४७ जना सांसदको समर्थनमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

मुख्यमन्त्री कार्कीले शपथ लिएलगत्तै आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी समेत गरेका छन्। एमालेको समर्थनमा मुख्यमन्त्री बनेका उनले एमालेलाई साथ दिनैपर्ने नैतिक दबाब छ।

यता, मुख्यमन्त्री कार्कीले कांग्रेस संस्थापन पक्ष र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउँछन् वा गराउँदैनन् भन्ने पनि चासोको विषय रहेको छ। 

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भएको छलफलमा सत्ता गठबन्धन प्रति दृढ र स्पष्ट रहने सहमति भएको थियो।

एमाले प्रदेश सरकारमा सहभागी हुँदा यसको राजनीतिक असर अन्य प्रदेश सरकारदेखि संघ सरकारसम्म नै पर्ने देखिन्छ। 

असोज २८, २०८० आइतबार १०:१२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।