सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका इलामका पाँच नेपाली

सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका इलामका पाँच नेपाली

इलाम : भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढीपछि सम्पर्कविहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन्। 

पछिल्लो समय उनीहरूसँग परिवारका सदस्यले फोन तथा सामाजिक सञ्जालमा कुरा भएको जनाएका छन्। इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएका हुन्।

परिवारसँग सम्पर्क गरेको जानकारी प्राप्त भएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए। 

सम्पर्कविहीन भएका सबैजना स्वदेश फर्किंदै गरेको पनि परिवारका सदस्यबाट जानकारी प्राप्त भएको उनले बताए। बाढी आएपछि नेपाली बसोबास गर्ने स्थल तथा आसपासमा विद्युतसमेत कटौती भएको थियो। विद्युत् नहुँदा टेलिफोन तथा अन्य सञ्चारका साधनसमेत अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ। 

पाँच जना नेपालीहरू गएको यही असोज १६ गतेदेखि नै सम्पर्कविहीन भएका थिए। सोही दिन सिक्किमको उत्तरी भेगको हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षापछि गएको पहिरो र टिस्टा नदीमा बाढी आउँदा धनजनको क्षति भएको थियो।

असोज २८, २०८० आइतबार ०९:२०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।