धान रोप्न छाडेर फलफूल खेती थालेका दीपेन्द्र, जो कागती बेचेरै वार्षिक सात लाख कमाउँछन्!
सुर्खेत : दैलेख डुङ्गेश्वर गाउँपालिका-५ पोखरीपाटाका २६ वर्षीय दीपेन्द्र केशर खनाल कागती बेच्नकै लागि वीरेन्द्रनगर आउँछन्। हप्तामा एकपटक वीरेन्द्रनगर आइरहने उनी मण्डीमा क्विन्टलका हिसाबले कागती बेच्छन्।
मण्डीमा एकैपटक क्विइन्टल बिकेपछि उनी ८/१० किलो कागती झोलामा पनि बोकेर पसल–पसल चाहर्छन्। समयअनुसार ८० देखि १५० रुपैयाँ किलोसम्ममा उनले कागती बेच्छन्। उनले मण्डीमा बेच्ने र फुटकर बेच्ने मूल्य एउटै हुन्छ।
घरको एक्लो छोरा उनी बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म आफ्नै बारीमा बोटबिरुवासँग रमाउँछन्। दीपेन्द्रका बुवाले पनि कृषि नै गर्थे। २०७० सालमा उनका बुवा गोकर्णले आफ्नै नामबाट दीपेन्द्रलाई ‘गोकर्ण कृषि तथा पशुपालन कृषि फर्म’ दर्ता गरिदिए।
बीएड दोस्रो वर्ष अध्ययन गरिरहेका दीपेन्द्रको बारीमा बाह्रैमास कागती र केरा हुन्छन्। २० पाथी धानको बिउ लाग्ने खेतमा राम्रो आम्दानीको सम्भावना देखे उनले।
२० पाथी बिउ लाग्ने उक्त जग्गामा उनले करिब ५०/६० मुरी धान फलाउँथे। त्यसबाट उनको जम्माजम्मी ९०/९५ हजार रुपैयाँ हुन्थ्यो। त्यो पनि वर्षको एकपटक मात्रै।
त्यसमा पनि कामदार, मल र आफ्नो मिहिनेत कटाउँदा थोरै बच्थ्यो। जब उनले परम्परागत कृषि छोडेर नगदे बालीको खेती गरे तब उनले वार्षिक सात लाख रुपैयाँसम्म कमाउन थाले।
फलफूल खेतीमा बुवाआमा, श्रीमती र आफूले काम गर्छन्। ४०/५० हजार यातायातको भाडा तिरे पनि वर्षमा साढे चार लाख रुपैयाँ उनलाई खुद नाफा हुन्छ। अफ सिजनमा त सुन्तला, अमिलो र अलैंचीबाट उनले राम्रो आम्दानी गर्ने गरेको उनी बताउँछन्।
‘पहिला २० पाथी बिउ लाग्ने जग्गामा ५०/६० मुरी धान मात्रै हुन्थ्यो। त्यसमा पनि मेहनत बढी आम्दानी कम,’ दीपेन्द्रले भने, ‘जब मैले कागती, केरा, अमिलो र अलैंची लगाएर खेती परिवर्तन गरें, त्यसपछि सोचेअनुसार आम्दानी हुन थाल्यो। चामल त बजारबाट पनि ल्याएर आउन सकिँदो रहेछ भन्ने अनुभूति भएको छ।’
काँचो केरा ५ रुपैयाँ कोसा त उनको बारीबाटै बिक्री हुन्छ। त्यस्तै एक हजार रुपैयाँ लिटर अमिलोको चुक र पाँचसय रुपैयाँ किलोमा अलैंची बेच्छन्।
अहिले उनको बारीमा एक सय कागतीका बिरुवा छन्। त्यसमध्ये २५० बिरुवाले वार्षिक रुपमा फल दिन्छन्। केरा, अलैंची र अमिलो पनि सय/सय बिरुवाको हाराहारीमा छन्।
पहिला केही घरमा र केही-केही कृषि विकास कार्यालय दैलेखबाट सुपथ मूल्यमा कागतीका बिरुवा किनेका उनले अहिले बिरुवा उत्पादन पनि घरमै गर्ने गरेका छन्।
बुवाले कृषि फर्म दर्ता गरेपछि १० हजार रुपैयाँबाट व्यवसाय सुरु गरेका दीपेन्द्र अहिले महिनामा चार क्विइन्टलसम्म त कागती मात्रै बेच्छन्। न कामदार खर्च, न त विषादी खर्च। उनको घरमै विभिन्न प्रजातिका बोटबिरुवाको प्रयोगबाट बनाइने झोल मल र कीटनाशक बन्छ।
अमिलो, तीतो, टर्रो स्वाद भएका बोटबिरुवाहरू बकाइनो, नीम, तीतेपाती, असुरो, बोझो, सुर्ती, केतुके, बनमारा, लहरे तरकारीका पातहरू, गाईभैंसीको पिसाब, गोबर प्रयोग गरेर उनले घरमै जैविक विषादी बनाउँछन्।
गाउँमा बजार र मूल्य नभएपछि बारीको उत्पादन ल्याएर प्रदेश राजधानीमा आउने गरेको दीपेन्द्र बताउँछन्।
‘गाउँमा बजार छैन। बजार नहुँदा मूल्य पाउने सम्भावना नै भएन। त्यसैले भाडा तिरेर भए पनि आफैं वीरेन्द्रनगर ल्याएर आउँछु,’ उनले भने, ‘मेरो उत्पादन राम्रो भएकोले मण्डीहरूमा लुछाचुँडी हुन्छ। ८/१० किलो बाहिर फुटकर रुपमा पनि बेच्छु। बाहिर बेच्दा नयाँ मान्छेहरूसँग भेटघाट र चिनजान हुन्छ। मण्डी बाहिर पनि उही मूल्यमा बेच्छु।’
उनका बुवा आमाले पनि एक्लो छोरा घर छोडेर कहीं नजाओस् भन्ने चाहनालाई आफूले खुसीका साथ पुरा गरेको दीपेन्द्र बताउँछन्, ‘म घरको एक्लो छोरो बुवा आमाको पनि छोरा घर छोडेर बाहिर नजाओस् भन्ने चाहना थियो। त्यही अनुसार खुसियालीका साथ मिहिनेत गरिरहेको छु। यसरी काम गर्दा शरीरलाई र वातावरणलाई पनि फाइदा, पारिवारिक रुपमा पनि सन्तुष्टि।’
आफू र अरूलाई बचाउने कृषि भएकोले आफ्नी एक मात्र छोरी ठूलो भएपछि कृषि पढाएर यही कर्ममा लगाउने योजना दीपेन्द्रले बनाएका छन्। उनकी छोरी अहिले सात महिनाकी भइन्।
सरकारले कृषि उत्पादन होइन, झोलामा फर्म उत्पादन गर्नेलाई प्रोत्साहन गर्दा आफू जस्ता वास्तविक कृषक मर्कामा परेको दीपेन्द्र गुनासो गर्छन्।
‘यहाँ म जस्ता साँच्चिकै कृषकलाई सरकारले अनुदान दिंदैन। झोलामा फर्म बोकेर हिंड्नेलाई करोडौं अनुदान दिन्छ,’ उनले भने, ‘त्यसले गर्दा वास्तविक कृषक मर्कामा छन्। यस्ता विषयमा सरकारले ध्यान दिनुपर्छ।
अहिले उनको यो लोभलाग्दो कमाई देखेर वरपरका छिमेकीहरूले समेत धानबाली छोडेर तरकारी र फलफूल लगाउन थालेको उनी बताउँछन्।
असोज २८, २०८० आइतबार ०८:५९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।