राजेश हमालबारे बोल्दा पोल्ने पालो अभिनेत्री उषाको !
काठमाडौँ : एक कार्यक्रम सञ्चालकले दिएको भए पनि राजेश हमालको परिचयसँग महानायक शब्द टाँसिएको टन्नै भयो।
हमालको नामसँगै महानायक चिप्काउने काममा कला पत्रकारहरूको ठुलै मिहेनत लागेको छ। यसको प्रभाव यति बलियो छ कि कसैले 'राजेश हमाल महानायक हैन' भनिदिने वा लेखिदिने हो भने त्यसको खैरियत छैन।
राम्रै फ्यान फलोइङ भएकी अभिनेत्री दीपाश्री निरौलाले यही महानायक पदवीबारे बोल्दा डिप्रेसनमै पुगिन्। उता यही महानायक विवादमा फस्दा शोभित बस्नेतको डाँडाको वर पिपलले पानी भन्न पाएन।
यस्तो देख्दादेख्दै अभिनेत्री उषा रजकलाई हमाल फ्यान क्लबको गाली खाने रहर जागेछ।
उनले एक कार्यक्रममा हमालको पदवीबारे त केही बोलिनन् तर पगरीकै बेइज्जत हुने विश्लेषण गरिन् हमालबारे।
कार्यक्रम सञ्चालकले ओभर रेटेड कलाकारबारे राखेको प्रश्नमा उनले प्याट्टै भनिदिइन् राजेश हमाल। यतिमै अड्किइनन् उनी। उनको अभिनय अनि डान्सकला सबैको व्याख्या गर्दै हमाललाई ओभर रेटेड सूचिमा राखिन्।
महानायक हैन भन्दा त रिसाउने हमालका प्रशंसकले अब ओभर रेटेड भनेको सहलान् त!
कार्यक्रममा उषासँगै रहेका कलाकार सुशील सिटौलाले अर्पण थापालाई ओभर रेटेड कलाकार भने।
कार्यक्रममा नेपाली फिल्ममा कला चल्छ कि लिङ्ग भन्ने पक्षमा समेत सिटौलाले प्रश्न जन्माए।
स्वस्तिमा र सिटौलाले सँगै अभिनय गरेका थिए। स्वस्तिमा टप नायिका बनिसक्दा सुशील सङ्घर्षकै चरणमा छन्। स्वस्तिमा चल्दा सुशील किन नचलेको भन्ने प्रश्नमा उनले भने' म केटा भएर।'
उनले सिधै स्वस्तिमा कला क्षमताको आधारमा हैन महिला भएकाले अगाडि बढेको आरोप लगाए घुमाउरो शैलीमा। तर विवाद चर्किने विषय राजेश हमाल ओभर रेटेड कलाकार भन्ने उषाकै स्टेटमेन्ट होला।
असोज २८, २०८० आइतबार ०३:२८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।