चार जनाको क्रुर हत्याका आरोपीको डरलाग्दो बयान : पाँचौंको हत्या गर्न नपाएकोमा पश्चाताप

चार जनाको क्रुर हत्याका आरोपीको डरलाग्दो बयान : पाँचौंको हत्या गर्न नपाएकोमा पश्चाताप

काठमाडौं : चार जनाको क्रुर हत्या गरेको आरोपमा पक्राउ परेका सञ्जय भण्डारीले बयानमा आरोप स्वीकारेका मात्रै छैनन्, उनले पाँचौं व्यक्तिको हत्या नगरेकाले पक्राउ परियो भन्दै भन्दै दु:ख व्यक्त गरेका छन्।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोग पत्रमा समेटिएको उनको बयानमा पाँचौं व्यक्ति मार्न सकेको भए आफू पक्राउ नपर्ने भन्दै उनलाई नमारेकोमा पछुतो मानेका छन्।

दिब्य स: मिलमा चार जनाको हत्या गरेपछि त्यहीँ बस्ने योजनामा रहेको तर बाहिर गेटमा लाइट देखेपछि स्थानीयहरूले थाहा पाएछन् भनेर भागेको उनको बयानमा उल्लेख छ।

तर स्थानीयहरू नआई दीपेन्द्र राई एक्लै आएका थिए। उनले नै पहिला घटना थाहा पाएर प्रहरीलाई जानकारी गराएका थिए। तर, हत्यामा संलग्न रहेको आशंकामा उनी नै पक्राउ परेका थिए।

‘लाइटको उज्यालो देखि मानिसहरूको जमघट हुन लागेको भ्रममा परी निजलाई नमारी भागेकोमा मलाई पश्चाताप छ’, भण्डारीको बयानमा उल्लेख छ।

चार जनाको हत्या गरेकोमा उनमा कुनै पश्चाताप देखिन्न। न त उनीहरूको हत्या गर्नुको बलियो कारण नै खुल्छ। श्रवण शक्ति नभएका व्यक्तिहरूप्रति समाजले गर्ने व्यवहारबाट उनी निकै आक्रोशित हुने गरेको देखिन्छ।

उनले जुन बयान दिए त्यसबाट बयान लिने प्रहरीले समेत छक्क परेको थियो। उनको बयानको शैलीले कतै उनको मानसिक स्वास्थ्यमा कुनै समस्या छ कि भनेर मनोचिकित्सककोमा परीक्षण समेत गराएको देखिन्छ।

उनमा समाजविरोधी भावना उच्च रहेको देखियो। तर, मानसिक स्वास्थ्यमा कुनै समस्या देखिएन। हत्या गर्नु अगाडिसम्म उनलाई चार जनाको नामसमेत थाहा नभएको खुलेको छ।

उनले चार जनाको हत्या घटना मात्र स्वीकारेका छैनन्, बयानमा अन्य व्यक्तिहरू समेत मारेको दाबी गर्दै बयान दिएका छन्। तर, उनको बयान अनुसार थप व्यक्तिको हत्या गरेको कुनै प्रमाण प्रहरीले फेला पार्न सकेन।

भण्डारीको बयान : मारेकाहरूको नाम पछि थाहा पाएँ
सिन्धु बहिरा आधारभूत विद्यालय बाह्रबिसेको छात्रबासमा बसेर कक्षा १ देखि ८ सम्म अध्ययन गरेँ। त्यसपछि काठमाडौंको नक्सालमा रहेको छात्रबासमा बसेर केन्द्रीय बहिरा उच्च माध्यामिक विद्यालय नक्सालबाट शिक्षा संकायमा कक्षा १२ पास गरेँ।

१२ कक्षा पास गरेपछि म जस्तै साथीहरू रोशन कार्की, पंकज शर्मा र शिवराम मगरसँग मिलेर काठमाडौं धुम्बराहीस्थित धिरज नकर्मीको घरको एउटा कोठा भाडा लिई ३/४ महिनाजति बस्यौँ। त्यसपछी गाउँको घर सिन्धुपाल्चोक गई बसेँ। समय-समयमा काठमाडौं आउने जाने गर्थेँ।

२०७९ कार्तिकतिर काठमाडौं आएर काँडाघारीमा रहेको कान्छी दिदी भगवती भण्डारीको डेरामा ३/४ महिना बसेर कम्प्युटर सिकेँ।

बाह्रबिसेमा बसिरहेको थिएँ। काठमाडौं आएर २०८० भदौ २९ को राति तीनकुनेमा रहेको दिव्य सः मिल एण्ड काष्ठ उद्योगमा चार जनाको हत्या गरेँ। मैले मारेकाहरू नविन राई, पूर्णबहादुर बहादुर भुजेल, अम्बिका भुजेल र सुभद्रा भुजेल भन्ने पछि थाहा पाएको हुँ।

म तीक्ष्ण क्षमता भएको व्यक्ति हुँ। एक पटक देखेको व्यक्तिलाई सधैँ चिन्न सक्छु र हरेक कुरा लामो समयसम्म दिमागमा राख्न सक्छु।

मलाई मोटरसाइकलले ठक्कर दिँदा ठक्कर दिने मोटरसाइकल चालकको अनुहार, आँखा, शरीरको जिउडाल लगायतको हुलिया राम्रोसँग नियालेको थिएँ।

मेरो मनसपटलमा गहिरो स्मरण भइरहेको थियो। दुर्घटनापछि मोटरसाइकल कोटेश्वरतर्फ गएको थियो।

मलाई ठक्कर दिई उपचार खर्चसमेत नदिई हातपात गर्ने मोटरसाइकल चालकको खोजीमा थिएँ। म काँडाघारीमा बस्ने हुँदा कोटेश्वरको बाटो हुँदै आवतजावत गर्ने क्रममा मलाई ठक्कर दिने मोटरसाइकल चालकलाई पैदल हिँडेको बेलामा देखेँ। चिनिहालेँ।

उसको पिछा गर्दै जाँदा तीनकुनेको दिव्य सः मिलभित्र छिरे। त्यसपछि पटक-पटक काष्ठ उद्योगको वरपरबाट नियाल्दा काष्ठ मिलको पश्चिमतर्फको फलामे डण्डीको गेटसँग सटाई बनाएको अस्थायी टहरामा ऊ बस्ने गरेको थाहा भयो।

उसको नाम नविन राई भन्ने पक्राउ परेपछि मात्र थाहा पाएको हुँ। उसले मलाई ठक्कर दिई, हातपात गरेर मेरो आत्म सम्मानमा चोट पुऱ्याएको थियो। ऊ बस्ने ठाउँ पत्ता लगाइ सकेपछि उसलाई मार्न सकिने अवसर खोज्दै थिएँ। ऊ बस्ने ठाउँ थाहा पाएपछि सिन्धुपाल्चोकको घर फर्किएर दुई महिना बसेँ।

ठक्कर दिने मोटरसाइकल चालकलाई मार्नुपर्छ भन्ने लाग्यो। अनि मार्ने योजना बनाएँ। घटनाको दिन नविन राईलाई मार्न घरमा राखेको खुकुरी, परिचय पत्र, कपडा झोलामा राखेर बिहान ११ बजेतिर अरनिको यातायातमा टिकट काटेर काठमाडौं आएँ।

बेलुका अन्दाजी ४ बजेतिर काठमाडौंको कोटेश्वर ल्याइपुर्यायो। बसबाट उत्रिएर कोटेश्वरबाट चाबहिल गएँ। चाबहिलबाट पैदलै गहनापोखरी हुँदै नक्साल गएँ। नक्सालमा म जस्तै बहिरा साथीहरू चित्र बहादुर लामा, मनिष शाह र विवेक बस्नेतलाई भेटेर सामान्य गफ गरेर नक्सालबाट पैदल हिँड्दै गहनापोखरी, चाबहिल, एरपोर्ट हुँदै तीनकुने गएँ।

घटनास्थल जाने क्रममा गौशलामै मोबाइल अफ गरेँ। खुकुरी राखेको झोला बोकेकै थिएँ। राती सात बजिसकेको थियो। काठ उद्योगको दक्षिणमा एयरपोर्ट देखिने रिङरोडतर्फ मुल गेट थियो। मुलगेट अगाडि केही चहलपहल देखिन्थ्यो।

गेटबाट पश्चिम १०/१५ मिटरको दुरीमा उद्योगको पश्चिमगेट जाने बाटो छ। बाटोबाट पश्चिमतर्फको गेटमा गएँ। बाटोबाट उद्योगसँगै रहेको मार्वल उद्योगमा जाने गेट छ। गेट बन्द थियो। पश्चिम गेट अगाडिको दुई वटै ठूलो घर पूर्ण रूपमा खाली जस्तो सुनसान थियो।

पश्चित गेट फलामे डण्डी जोडेर बनाएको थियो। फलामको डण्डीहरूमा समातेर बार नाघेर गेटसँगै रहेको उद्योगको एककोठे कच्ची टहराको घरमा गएँ।

पश्चिम गेट नजिकको एक कोठे टहरो घरको कोठामा ढोकाको चुकुल मात्र लगाएको थियो। चाबी लगाएको थिएन। चुकुल खोलेर कोठाभित्र गएँ, कोठामा चुरोट सल्काएर १५ मिनेट जति बसेँ।

कोठाको अगाडि दुई तले कच्ची टहरो थियो। घरको भुईं तला बन्द र माथिल्लो तलाको ढोका खुल्ला थियो। बत्ती बलिरहेको थियो। बत्ती बलेको कोठामा बाहिरबाट जाने फलामे गोलो रेलिङ भर्याङ थियो।

शुरूमा गएको कोठाबाट निस्किएर टहरोमा गएर फलामे रेलिङको गोलो भर्याङ चढेर बत्ती बलेको माथिको कोठामा गएँ। कोठाको बिचमा बार लगाएर दुई वटा कोठा बनाएको रहेछ। अफिसको लागि प्रयोग गरेका रहेछन्। कोठामा कोही थिएन।

केही समय कोठामा राखिएको सोफामा बसेपछि बाहिर मान्छे आएको जस्तो लाग्यो। उठेर हेर्दा बाहिर मान्छे हिँडेको देखेँ। उक्त मान्छे पश्चिम गेटतर्फ गएर फर्कियो।

आउँदै गरेको व्यक्ति मलाई ठक्कर दिई हातपात गर्ने मोटरसाइकल चालक नविन रहेछन्। नविन म बसेको कोठातर्फ आउन थाले। झोलाबाट खुकुरी निकाली कोठाको ढोकामा तयारी अवस्थामा बसेँ।

नविन ढोकामा आइपुग्नासाथ मलाई देखेर गालामाथि टाउकाको भागमा झापड हाने। मैले दुवै हातले खुकुरी समातेर बल लगाई टाउकोमा हानेँ।

ऊ रगताम्मे भई ढलेपछि पनि मैले टाउकोमा पटक-पटक प्रहार गरेँ। मर्यो भन्ने एकीन भएपछि गोडामा समातेर घिसारी कोठाभित्र छेउमा लगेर राखेँ।

केही समयपछि कोठा बाहिर आँगन जस्तो भागमा अर्का ५०/५५ वर्ष जतिको देखिने छोरा मान्छे फोनमा कुरा गर्दै आएको जस्तो लाग्यो।

कोठाबाट तल झरेर पछाडि टाउकोमा जोडले खुकुरीले हानेँ। एकै चोटमा ढले। ढलेपछि टाउकोमा पटक-पटक प्रहार गरेँ।

​​​​​​​दुवै गोडामा समातेर टहराको पछाडि कुनामा रहेको ट्वाइलेटको ढोका छेउमा लगेर लुकाएँ। शव लुकाएर आउँदा सोही ठाउ नजिकै आँगनमा अर्को महिला आउँदै गरेको देखेँ। उनलाई पनि खुकुरी हानेँ।

शुरूमा हान्दा छेकेको जस्तो लाग्यो, तत्कालै दोस्रो पटक जोडले हान्दा भुईमा ढलिहालिन्। महिलाको शवको दुई वटा गोडा समाएर घिसारी केटा मान्छेको शव लुकाएको ट्वाइलेटको ढोका सामुन्ने पानी तान्ने चापाकलको छेउमा लुकाएँ।

​​​​​​​लगत्तै झोला भिरेकी बुढी मान्छे आँखा नदेखेको जस्तो गरी बिस्तारै भुईंतिर हेर्दै आउनुभयो। ती बुढी मान्छेलाई समाती घाँटी रेटी मारेर शवलाई घिसारेर काठहरू राखेको कुनामा लगि लुकाएँ।

​​​​​​​त्यसपछि यताउता हेरे कसैलाई देखिनँ। लगभग रातिको ९ जति बजिसकेको सुनसान थियो। थाकिसकेको थिएँ। शवहरू लुकाएको नजिकै चापाकलको धारामा प्लाष्ट्रिकको बाल्टी थापेको रहेछ। धारा थिचेर हात, मुख, खुकुरी धोएँ। कपडामा लागेको रगत पुछेँ र अफ गरेको मोबाइल अन गरेर मोबाइलको लाइट बालेँ। शरीरको रगत पुछिएको छ/छैन हेरेपछि पहिलो कोठामा गई आराम गरेँ।

​​​​​​​लगभग डेढ/दुई घण्टाजति आराम गरेपछि फ्ल्याक्स लाइटहरू आएको जस्तो लाग्यो। घटना सम्बन्धमा थाहा पाइ मानिसहरू जम्मा हुन लागेको जस्तो लाग्यो। अनि खुकुरी सहितको झोला बोकेर घटनास्थलमा प्रवेश गरेकै गेटबाट बाहिर निस्किएँ।

दगुर्दै सडक क्रस गरेर तीनकुने हुँदै कोटेश्वरतर्फ भागेँ। सडक किनारै किनार जडिबुटी चोकसम्म गएँ। त्यहाँबाट काँडाघारीमा रहेको दिदी-भिनाजुको डेरामा गएँ।

घरको गेट घच्घचाई खोल्न अनुरोध गर्दा गेट खोलेनन्। लगभग दुई घण्टासम्म गेट बाहिर बसेँ। पछि गेटमाथिबाट चढेर कम्पाउण्डभित्र गएर कोठाको ढोका ढकढक गरेँ। त्यो कोठामा भिनाजुको भाइबुहारी बस्न थालेका रहेछन्।

दिदी भिनाजु अर्को घरको कोठामा सर्नु भएको रहेछ। भिनाजुको भाइबुहारीले भिनाजुलाई फोन गरी बोलाइदिनुभयो। भिनाजुले नयाँ कोठामा लैजानु भयो।

कोठामा पुगेपछि दिदीले खाना दिनुभयो। खाना खाएर दिदी भिनाजुको कोठामा बसेका उमेश माझी र म एउटै खाटमा सुत्यौँ।

सामाजिक विभेदको कारण म निर्दयी छु
सामाजिक विभेदको कारण म निर्दयी छु। कसैप्रति माया जाग्दैन। विगतमा पनि यस्ता घटना धेरै घटाएको हुनाले मैले हत्यापछि, घटनास्थलमा प्रवेश गर्दा प्रवेश गरेको पहिलो कोठामा गएर आराम गरेँ। आराम गर्दा केही समय निदाएँ। खासै असहज महसुस भएन।

बहिराहरूप्रति गरिने सामाजिक विभेदको कारण मैले काठमाडौंको विभिन्न स्थान रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा विभिन्न मितिमा मान्छे मारेको छु।

मारेको मान्छेहरूलाई म चिन्दिनँ। सबैलाई धारिलो हतियार प्रहार गरी मारेको छु। मारेको मिति थाहा छैन, अनुसन्धान गर्ने काम प्रहरीको हो।

सम्बन्धित समाचारः–

असोज २७, २०८० शनिबार २२:०८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।