मनाङ एयरका पाइलटलाई उपचारका लागि भारत लगिने, ५० प्रतिशत जलेको छ शरीर

मनाङ एयरका पाइलटलाई उपचारका लागि भारत लगिने, ५० प्रतिशत जलेको छ शरीर

काठमाडौं : मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लगिने भएको छ।

शनिवार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि आजै भारतको नेशनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको ह्याम्स अस्पतालले जनाएको छ।

उनको उपचार इमरजेन्सी कक्षमा सुरू गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

अस्पतालका अनुसार उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ। साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको विज्ञप्तिमा उल्लेख छ।

उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको अस्पतालले जनाएको छ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको हेलिकप्टर शनिबार बिहान ७ बजेर १३ मिनेटमा दुर्घटना भएको थियो।

असोज २७, २०८० शनिबार १९:५४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।