भारत र श्रीलङ्काबीच ४० वर्षपछि डुङ्गा सेवा पुनः सञ्चालन

भारत र श्रीलङ्काबीच ४० वर्षपछि डुङ्गा सेवा पुनः सञ्चालन

एजेन्सी : भारत र श्रीलङ्काले ४० वर्षपछि डुङ्गा सेवा शनिबारदेखि पुनः सञ्चालन गरेका छन्।

भारतको तमिलनाडु राज्यको पूर्वी तटमा रहेको नागापट्टिनम र श्रीलङ्काको उत्तरी प्रान्तको जाफना नजिकै कान्केसानथुराईबीच यो सेवा सुरु गरिएको हो।

भारतका बन्दरगाह, पानीजहाज तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले नागापट्टिनम बन्दरगाहमा सेवा सञ्चालन खुला भएको सङ्केतस्वरूप डुङ्गालाई हरियो झण्डा देखाएर डुङ्गामा आएका यात्रीलाई स्वागत गरेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रीलङ्काका राष्ट्रपति, सरकार र त्यहाँका जनतालाई नौका सेवाको सफल शुभारम्भका लागि धन्यवाद दिएका थिए।

उनले भारतको रामेश्वरम र श्रीलङ्काको तलैमन्नारबीच नौका सेवा पुनः सञ्चालन गर्ने दिशामा काम गर्नेबारे पनि बताए।

सिपिङ कर्पोरेसन अफ इन्डियाले सञ्चालन गरेको उच्च गतिको डुङ्गाको क्षमता १५० यात्रु रहेको छ।

नागपट्टिनम र कान्केसानथुराईबीचको करिब ६० नटिकल माइल (११० किलोमिटर)को दूरी समुद्रको अवस्थाअनुसार करिब ३.५ घण्टामा पूरा हुने अधिकारीहरूले बताएका छन्।

पचास यात्रु लिएर श्रीलङ्काका लागि छुटेको ‘चेरियापानी’ जहाज साँझपख श्रीलङ्काबाट यात्रु लिएर भारत फर्कनेछ।

असोज २७, २०८० शनिबार १९:३४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।