गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : मन्त्री शर्मा

गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : मन्त्री शर्मा

दाङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको गणतान्त्रिक शासन व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको दोहोर्याएकी छन्।

दाङको तुलसीपुर–१९ मा माओवादी केन्द्रले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पहिलेको जस्तो ठूलाबडालाई जे गरे पनि छुट हुने तर सामान्य मानिसलाई मात्र कानून लाग्ने अवस्था अहिले नरहेको बताइन्।

उनले भनिन्, ‘अब गल्ती गर्ने कोही पनि कानूनभन्दा माथि हुँदैन, सानाठूला सबैलाई गल्तीअनुसारको कारबाही हुन्छ, यो वास्तविकतालाई वर्तमान सरकारले काम गरेर स्थापित गरिसकेको छ, सरकारको कामबाट यो पुष्टि भएको छ।’

मन्त्री शर्माले व्यक्तिले गरेको गल्तीको दोष सम्रग राजनीतिक व्यवस्थालाई लगाउन नहुने बताइनन्।

उनले थपिन्, ‘व्यक्तिले गल्ती गर्न सक्छ तर त्यसको दोष व्यवस्थाले लिन सक्दैन, लिनु पनि हुँदैन।’

हिजो पदमा रहँदा गल्ती गरेकाहरू अहिले कानूनी कारबाहीको दायरामा आइसकेको भन्दै उनले गल्ती गर्ने मानिस कुनै न कुनै समयमा कानूनी दायरमा आउने तर्क गरिन्।

वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि दृढ र प्रतिबद्ध रहेको भन्दै मन्त्री शर्माले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नका लागि सरकार र जनताबीच तालमेल हुन आवश्यक रहेको बताइन्।

मन्त्री शर्माले आर्थिक समस्याका कारण धेरै ठाउँमा नयाँ विकास योजना राख्न नसकिएको जानकारी दिँदै भएका विकास योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।

असोज २७, २०८० शनिबार १७:२३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।