कोशीमा सफल विद्रोहबाट सत्ताशक्तिमा फर्किए शेखर, देउवा-गगन दुवैलाई झट्का
काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहको नेता भए पनि शेखर कोइरालाको भूमिका पार्टी निर्णयमा हस्तक्षेप गर्नसक्ने देखिएन। पार्टीका विभिन्न फोरमहरूमा पार्टी नेतृत्वप्रति असन्तुष्टि राखे पनि नेतृत्वले उनलाई खासै वास्ता गरेन।
उनी बेलाबखत पार्टी सभापतिलाई धम्क्याउँथे। निर्वाचनताका माओवादी केन्द्रसहितको गठबन्धनको विपक्षमा थिए उनी।
तर, त्यसको प्रभाव परेन। माओवादी केन्द्रसहितको प्रदेश र केन्द्रको सकारमा पार्टी सहभागी हुनेबारे पनि उनको विमति रह्यो। त्यसले पनि असर गरेन।
उनलाई पार्टी नेतृत्वले संस्थापनइतर समूहको नेताको हैसियतै दिएन। पार्टी सभापति शेरबहादुर देउवा कोशीमा कांग्रेसको सट्टा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउन सहमत भए। तर यसपटक भने शेखर मौखिक हैन व्यावहारिक रूपमै मैदानमा उत्रिए।
मध्यावधिको अन्तिम विकल्प रहेको संवैधानिक प्रावधान अनुसार सांसदको हैसियतमा सरकार गठनको दावी पेश गर्नसक्ने संवैधानिक प्रावधानमा टेकेर शेखरले केदार कार्कीलाई मुख्यमन्त्रीमा अगाडि बढाए।
पार्टी नेतृत्वले हुन्न भन्दाभन्दै एमालेसँग मिलेर कोशीमा आफ्नो पक्षको सांसद कार्कीलाई मुख्यमन्त्री बनाउँदै शेखरले एकै पटक कोशी प्रदेशको सरकार गठनको प्रक्रियाबाट यी सबै पेलानको बदला त लिए नै, संस्थापनइतर समूहको नेताको शक्ति समेत फर्काए।
राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन देखाएर माओवादीले कांग्रेसको भागमा परेको कोशीको सरकारको नेतृत्व गर्ने चाल चलेको थियो। त्यो चाल शेखरका कारण सफल भएन। शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भए। ३० दिनभित्र विश्वास मत लिने चुनौती कायमै छ।
उता कोशीबाट कांग्रेसभित्र शुरू भएको व्यावहारिक विद्रोहले केन्द्रको सरकार समेत प्रभावित हुनसक्ने भयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पटक शेखरलाई बोलाएर सत्ता गठबन्धनबारे छलफल गरे।
छलफलमा शेरबहादुर देउवा पनि सहभागी थिए। प्रचण्डले कार्कीकै नेतृत्वमा कोशीमा सरकार सञ्चालन गर्न प्रस्ताव गरे। देउवा पनि त्यसमा सहमत भए। अनि तीनै नेताले लिखित सहमति गरेर हिँडे।
गठबन्धनको सत्ता साझेदारीमा शेखरको यो पहिलो लिखित उपस्थिति थियो। कोशीको विद्रोहले नै उनलाई यो हैसियत देखाएको थियो। कोशीको नेतृत्व पनि पाइन्छ कि भनेर माओवादी केन्द्रले च्याखेँ थापे पनि त्यसको प्रभाव केन्द्रमा पर्ने भयो भनेर प्रचण्ड डराएका थिए।
त्यसैले देउवालाई साक्षी राखेर प्रचण्डले शेखरसँग कांग्रेस, माओवादी केन्द्रसहितका दलहरूको वर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको र गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित गराएर हस्ताक्षर गराए।
सादा कागज समेत नखोजी जुन भेटिन्छ त्यसैमा लेखेर हस्ताक्षर गरिएकाले शेखरले कोशीबाट शुरू गरेको विद्रोहबाट कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कति डराएका रहेछन् भन्ने देखाउँछ नै।
पहिलो शक्तिशाली विद्रोह
गगन थापा समूहसहितको समर्थनमा पार्टी सभापति हुने प्रयत्न गरे पनि रामचन्द्र पौडेल, शशांक अनि सुजाता कोइरालाका कारण सफल भएनन् शेखर कोइराला।
सभापतिमा पाराजित भए पनि उनी कांग्रेसको संस्थापन इतर समूहको नेता बने। नेता त बने तर शक्तिहीन। प्रदेशदेखि केन्द्रसम्मै उनको हैसियत शशांक, प्रकाशमान सिंह अनि कृष्ण सिटौलाको भन्दा फरक हुन दिएनन् पार्टी सभापति देउवाले।
सरकारमा प्रतिनिधित्वका लागि बरू शशांकले सम्मानजनक हैसियत पाए। शशांक समूह नभइ व्यक्ति थिए पार्टीभित्र। उनी न संस्थापनइतर समूहमा छन् न संस्थापनमा नै। शेखर समूहलाई उनै शशांक बराबर हैसियत दिएर देउवा समूहले उनलाई कमजोर देखाइदिए।
सरकारमा आफ्नो समूहबाट जाने सांसदको नाम अड्काएर केही समय सरकारलाई पूर्णाकार दिन रोके पनि त्यसको प्रभाव परेन पार्टीभित्रको राजनीतिमा। संसदीय दलको नेतामा देउवासँग कसले प्रतिष्पर्धा गर्ने भन्ने विषयमा आफ्नै समूहमा बेमेल हुँदा उनी पछि हट्न बाध्य भए। गगन देउवाको प्रतिष्पर्धी बनेर पराजित भए।
त्यही निर्वाचनमा गगनसँग जोडिए विश्वप्रकाश शर्मा अनि प्रदिप पौडेल। गगन यहीँबाट शेखरको विकल्पमा आफ्नै संस्थापनइतर समूह बनाउन लागेसँगै शेखर थप कमजोर बने। गगनसहितको संस्थापन इतर समूहलाई निरन्तरता दिन उनले छलफल र सहकार्य अगाडि बढाए पनि उनले देउवा संस्थापनइतर समूहको नेता बन्दा झैँ शक्तिशाली बन्न सकेनन्।
गगनसहितको संस्थापनइतर समूहको बैठक सक्काएर पार्टी सभापति शेरबहादुर देउवासँग धुम्बाराहीमा भेट गर्दै उनले छलफल नगरी जे मनलाग्यो त्यही गर्ने भए अब आफू कुरै गर्न नआउने भन्दै फर्किएका थिए। देउवाले शेखरलाई गम्भीर रूपमा नलिएको त्यसपछिको उनको व्यवहारले नै देखाउँछ।
त्यसैले कोशी प्रदेशमा कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने र यस अगाडि दुई पटक मुख्यमन्त्री भएर पनि विश्वासको मत पाउन नसकेका उद्धव थापाको विकल्पमा नयाँ मुख्यमन्त्रीमा जानुपर्ने शेखरको फरक मतको वास्ता गरेनन्। थापा मुख्यमन्त्री नहुने हो भने बरु माओवादी केन्द्रलाई नेतृत्व दिन राजी भएका देउवाको रणनीतिमा उनी मौन बसेनन् यसपटक।
उनले आफ्नो समूहबाट केदार कार्कीलाई अगाडि बढाए। कार्कीलाई एमालेका ३९ जना सांसदले साथ दिए। कांग्रेसका शेखर पक्षका आठ सांसदले कम्मर कसे। अन्तिमसम्म शेखरलाई असफल बनाउन देउवा आफैँ सक्रिय नभएका हैनन्। कोशीका प्रदेश प्रमुखले समेत आलटालको प्रयास गरे पनि संविधान अनुसार अर्को विकल्प नभएपछि शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भए।
गगन ग्याङलाई चेतावनी
कोशीको सफल अभ्यासबाट शेखरले पार्टी नेतृत्वलाई अब बोल्ने मात्र हैन गर्छु पनि भन्ने प्रष्ट सन्देश दिन सफल भए नै। आफ्नै समूहमा रहेर आफैँलाई कमजोर बनाउन सक्रिय गगन समूहलाई पनि बलियो चेतावनी दिन सफल भए।
पार्टीको १४ महाधिवेशनपछिको दृश्यले गगनले शेखरलाई महामन्त्रीका लागि मञ्चमात्र बनाएको प्रष्ट देखियो। १५औं महाधिवेशनमा उनी पार्टी सभापतिमा दावेदारी दिने तयारी गरिरहेका छन् नै। यता शेखर पनि पुन एक पटक नेतृत्वका लागि बल लगाउने तयारीमा छन्।
जसरी १३औं महाधिवेशनमा कृष्ण सिटौला उपयोग मात्रै भए १५औंमा शेखरको अवस्था त्यही हुने सम्भावना देखिन्छ नै। पछिल्लो समय गगन सकेसम्म विश्वप्रकाश र प्रदीप सहितको अलग्गै समूह बनाउने अभ्यासमा सक्रिय पनि छन्।
गगनको रणनीति आफू केन्द्रीत रहेको त कोशीकै प्रकरणमा समेत देखियो नै। कोशीमा आफ्नो समूहको सांसदलाई मुख्यमन्त्री बनाउन शेखर सक्रिय हुँदा गगन निष्क्रिय बसे।
कोशीको सफल विद्रोहबाट शेखरले गगन समूहलाई पनि ‘मिलेर एकै अजेण्डामा हिँड्ने हो भने ठिकै छ नत्र म तिमी नभए पनि बलियै छु’ भन्ने सन्देश दिन सफल भए।
असोज २७, २०८० शनिबार १५:१४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।