‘सुन्दर’ देखिने सर्जरी

‘सुन्दर’ देखिने सर्जरी

सुन्दरताबारे व्यक्तिअनुसार फरक दृष्टिकोण हुनसक्छ। यो व्यक्तिगत छनोटको विषय पनि हो। जस्तो जन्मियो त्यस्तै स्वीकार हुन पनि सक्छ।

कसैलाई भने आफ्नो शरीरका केही अङ्ग बदल्न मन पनि लाग्न सक्छ। यदि कोही आफ्नो अङ्गको केही बदल्न चाहन्छन् भने त्यसका लागि चिकित्सा विज्ञानमा ‘कस्मेटिक सर्जरी’ आएको छ।

कस्मेटिक सर्जरी विधि अपनाएर व्यक्तिले आफ्नो शरीरको आकार-प्रकार आफूले चाहेअनुसार बनाउन सक्छन्।

आगोले पोलेको, अङ्गगभङ्ग भएका, जन्मजात रूपमा शरीरका विभन्न भागमा समस्या भएका, तालु तथा ओठ र मुख खुँडे भएका, हात खुट्टाका औँला जोडिएका, क्यान्सरको उपचार लगायतका समस्याले शारीरिक अङ्ग अस्वाभाविक देखिएमा नेपालमै सहज उपचार गर्न सकिन्छ।

नेपालमा सर्जरीका प्रायः यस्ता विभिन्न उपचार सम्भव भइसकेको छ। यस्तो उपचारका लागि विदेश जानुपर्ने अवस्था छैन। व्यक्तिले शीरदेखि पाउसम्म शरीरका विभिन्न भागको अङ्गमा आफूले चाहेअनुसार कस्मेटिक सर्जरी विधिबाट सुधार गर्न सकिन्छ।

सामान्यतया दुई किसिमको समस्या भएर व्यक्तिहरू कस्मेटिक सर्जरीका लागि चिकित्सककहाँ आइपुग्छन्।

कुनै चोटपटक लागेर असर गरेको छ भने त्यस्ता व्यक्ति कस्मेटिक सर्जरी गराउन आउने गरेका छन्। यसमा विशेषगरी अनुहारको दाग तथा खतको उपचार पर्छन्। पोल्ने लगायतका विभिन्न कारणले चोट लागेको खण्डमा हात लगायतका शरीरको भागको सर्जरी गरेर दाग तथा खत हटाउन सकिन्छ।

अर्कोतर्फ शरीरका विभिन्न अङ्ग नमिलेको महसुस भए अङ्गको आकार मिलाएर आफूले चाहेअनुसार बनाउन सकिन्छ। हिजोआज कपाल प्रत्यारोपण गर्ने चलन पनि बढेको छ।

महिलाको तुलनामा पुरुषहरू बढी कपाल प्रत्यारोपणका लागि चिकित्सककहाँ आउने गरेका छन्। कतिपय युवाहरू दाह्री रोप्नका लागि पनि आउने गरेका छन् अहिले।

निधारमा चाउरिपना भयो भने छालालाई तन्काएर अनुहारमा चमक देखाउन सकिन्छ। कुनै दाग तथा खत छ र त्यो हटाउन चाहे त्यो दाग पनि पूर्न मिल्छ।

नेपालमै ‘कस्मेटिक सर्जरी’ विधिबाट नमिलेको आँखा शल्यक्रिया गरी ठूलो र खुलेको तथा मिलेको बनाउन सकिन्छ।

आँखाको मुन्द्री बनाइन्छ। आँखाको छाला झोलिएको अवस्थामा आँखा मिलाउन सकिन्छ। नमिलेको तथा थेप्चो नाक लामो बनाउन तथा मिलाउन सकिन्छ। आजकाल नाक मिलाउनका लागि धेरै जना व्यक्ति आउने गरेका छन्।

त्यसैगरी गाला मिलाउने चलन हुन्छ। गाला पुक्क छ भने गालाको बोसो झिकेर गालाको आकार मिलाउन पनि सकिन्छ। गाला पातलो छ भने बोसो भरेर गाला पुक्क पनि बनाउन सकिन्छ।

आजकाल गालामा डिम्पल बनाउने चलन पनि चलेको छ। त्यो पनि सर्जरीबाट सम्भव छ। कानको आकार मिलाउन पनि सम्भव छ अहिले। ओठ मिलाउन चाहनेहरू पनि बढेको देखिन्छ। विशेषगरी युवतीहरू ओठ ठूलो बनाउन चाहन्छन्।

सानो ओठ बोसो हालेर ठूलो बनाइन्छ। त्यसैगरी चिउँडोको आकार पनि मिलाउन सकिन्छ।

प्रायः पुरुषहरू आफ्नो स्तनको आकार घटाउन सर्जरीका लागि आउने गरेका छन्। पुरुषको स्तनको आकार सामान्य अवस्थाभन्दा ठूलो हुनुलाई चिकित्सकीय भाषामा ‘गाइनेकोमास्टिया’ भनिन्छ। पुरुषहरू यस्तो स्तनको आकार घटाउन चिकित्सककहाँ आउने गरेका छन्।

पुरुषको विशेषगरी मेसिनले स्तनमा रहेको अनावश्यक बोसो तानिन्छ। त्यसैगरी महिलाहरूको स्तनको आकार मिलाउन सकिन्छ। धेरै ठूलो स्तनको आकार घटाएर मिलाउन पनि सकिन्छ। झोलिएको स्तन कसिलो बनाउन पनि सकिन्छ। सानो स्तनलाई ठूलो आकारको बनाउन सिलिकनको प्रयोग गर्न सकिन्छ। के गर्ने त्यो व्यक्तिको छनोट हो।

स्तनको आकार महिलाको सुन्दरतासँग पनि जोडिने भएकाले स्तनको सर्जरी गरिन्छ। स्तन ठूलो हुँदा कपडै लगाउन असहज हुने, ढाड दुख्नेलगायतको समस्या हुनसक्छ। यस्तो अवस्थामा स्तनको सर्जरी गरेर स्तनको साइज मिलाउन सकिन्छ।

‘कस्मेटिक सर्जरी’गरि अप्रेशन गरेर वा मेसिनले पेटको अनावश्यक बोसो निकाल्न पनि सकिन्छ। एक किसिमको रडले पेटमा सानो प्वाल बनाएर बोसो निकाल्ने विधिलाई ‘लाइपोशक्सन’ विधि भनिन्छ।

पेट ठूलो तथा अनावश्यक रूपमा धेरै बोसो भएको अवस्थामा अप्रेशन गरेर बोसो निकालिन्छ भने थोरै बोसो भएर पेट नमिलेको देखिएको अवस्थामा पेट मिलेको सेपमा ल्याउन मेसिन प्रयोग गरि बोसो निकालिन्छ।

अप्रेशन गरेर बोसो निकाल्ने विधिको तुलनामा मेसिनले तानेर बासो निकालीने विधि सामान्य किसिमको शल्यक्रिया विधि हो। यो कम खर्चिलो हुन्छ। यो विधिमा घाउ पाक्नेजस्तो जोखिम कम हुन्छ। पेटको झोलिएको छाला काटेर पनि मिलाइन्छ।

त्यसैगरी हातखुट्टामा अनावश्यक बोसो छ भने लाइपोशक्शन विधि अपनाएर बोसो निकाल्न सकिन्छ। खुट्टा तथा हिपमा बोसो हालेर खुट्टा तथा हिपको आकार ठूलो बनाउन पनि सकिन्छ।

(प्लाष्टिक तथा कस्मेटिक सर्जन डा. रायामाझी नयाँ बानेश्वरस्थित स्किन आर्टस् एस्थेटिक्समा कार्यरत छन्।)

असोज २८, २०८० आइतबार १५:३९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।