भैरहवा विमानस्थल जग्गा प्रकरण : अख्तियार र प्रशासनको छुट्टाछुट्टै अनुसन्धान, १० प्रश्नको उत्तर प्रशासनमा पुग्यो
बुटवल : भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र पर्खालभित्र पर्ने जग्गा प्रवतराज कान्त मिश्रका नाममा दर्ता भएपछि अहिले यो प्रकरणमा अनुसन्धान जारी छ।
जिल्ला प्रशासन कार्यालय र अख्तियारले यस विषयमा फरक-फरक तरिकाले अनुसन्धान गरिरहेका छन्। अनुसन्धानका क्रममा अहिले कागजात संकलन हुने क्रम जारी छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट पनि एक टोली जग्गा प्रकरणबारे रुपन्देही आएर बुझेको थियो।
विभागबाट केदार दाहाल र कानुन अधिकृत गोकुल भुजेलले रुपन्देही आएर मालपोतका अभिलेख विवरण बारे अध्ययन गरेका थिए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जग्गा प्रकरण बारे अहिले अख्तियार र जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरिरहेको बताए। ‘सबै कागजपत्र हामीले संकलन गरिरहेका छौं। आवश्यक अनुसन्धान सकेपछि त्यो फाइल हामीले अख्तियारमा बुझाउनेछौं,’ उनले भने।
अख्तियारले पनि छुट्टै तरिकाले अनुसन्धान गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्यालले यसबारे अनुसन्धान पछि मात्र यथार्थ विवरण बाहिर आउने बताए।
जग्गा प्रकरणका विषयमा जिल्लाको मालपोत कार्यालयका प्रमुख कुमार आचार्यलाई १० बुँदे स्पष्टीकरण सोधिएकोमा आचार्यले त्यसको जवाफ प्रशासनलाई दिइसकेका छन्। प्रमुख जिल्ला अधिकारी अर्यालले मालपोत अधिकृत आचार्यले दिएको जवाफ पुष्टि हुने वा नहुने अनुसन्धानकै क्रममा रहेको भन्दै जवाफ के दिए भन्ने खुलाउन नमिल्ने बताए।
‘अनुसन्धानको विषय अझै नटुंगिएकाले के जवाफ दिए भनेर अहिले भन्न मिल्दैन। प्राप्त जवाफ सत्य छन/छैन त्यो पनि हामीले हेर्दैछौ,’ उनले भने।
मालपोत कार्यालयका प्रमुख कुमार आचार्यले अहिले सबै विषय अनुसन्धान भइरहेकोले यसबारे जवाफ दिइरहनु नपर्ने बताए। जिल्ला अदालतको मिलापत्र र सर्वोच्चको फैसाल अनुसार नै जग्गा दर्ता गरेको र यसमा मालपोतको कुनै गल्ती नभएको भन्दै आचार्यले अनुसन्धानबाट यसको यथार्थ अझै हुने बताए।
विमानस्थल भित्र पर्ने ४ बिघा १७ कठ्ठा जग्गा ८ वैशाख २०८० मा मालपोत कार्यालय भैरहवाबाट पर्वत कान्त मिश्रले आफ्नो नाममा दर्ता गरेको कागजातबाट देखिन्छ। मिश्रले विमानस्थल आयोजना कार्यालयसँग मुआब्जा मागेपछि धावनमार्गको जग्गा व्यक्तिका नाममा पुगेको रहस्य बाहिर आएको थियो।
यस्तो छ घटनाको विवरण
भारतको गोरखपुरकी सुर्जा मिश्राईन सिद्धार्थनगर–१० मा बस्थिन्। यही बस्ने क्रममा उनले जग्गा जमिन समेत जोड्दै गइन्। मिश्राईनको २०२२ सालमा ३० बिघा १४ कठ्ठा १४ धुर जमिन थियो। तर, भूमि सम्बन्धी ऐन २०२१ अनुसार ११ बिघा बढी जमिनमा हदबन्दी लाग्ने भएपछि उक्त जमिन मिश्राईनको नाममा दर्ता भएन।
त्यसपछि उनले मालपोत फाँटवारी भरेर हदबन्दीभन्दा बढी जमिन मन्दिरको नाममा जाने भनिन्। २०२५ माघ १८ गते मिश्राईनको मृत्यु भयो। उनको मृत्युपछि हकदावी गर्न रमाकान्त मिश्र आए। उनी पनि गोरखपुरमै बस्थे।
जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतको फैसला पछि २०६४ सालमा मालपोतले रमाकान्त मिश्रको नाममा जमिन दर्ता गर्ने निर्णय गरेको थियो।
तर, त्यसबेला साबिक भुजौली नक्सा सिट नम्बर ९ (ख) का कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२, ९४ को जमिन काली मन्दिरलाई छाड्ने निर्णय गरेको देखिन्छ। मालपोतले निर्णय गरे पनि जमिन नाममा नजाँदै रमाकान्तको २०६४ मंसिर २२ मा मृत्यु भयो।
उनको मृत्युपछि नजिकको हक खाने नाति पर्वत राज कान्त मिश्रको नाममा भुजौली ९ (क) र (ख) का गरी २४ वटा कित्ताका हदबन्दीभित्र पर्ने १० बिघा ६ कठ्ठा १९ धुर जमिन नाममा दर्ता भयो।
मिश्राईनका ३० बिघा १४ कठ्ठा १४ धुर जमिन मध्ये १३ बिघा १३ कठ्ठा ८ धुर जमिनमा मोही कायम भएको र काली मन्दिरलाई ६ बिघा जमिन दिएपछि बाँकी रहेको जमिन मिश्रको नाममा दर्ता गरिएको थियो। आफ्नो नाममा आएको जमिन मिश्रले विभिन्न मितिमा बिक्री गर्दै गएको देखिन्छ।
बिक्री गरेर बाँकी रहेको १ बिघा १ कठ्ठा जमिन पनि विमानस्थल बन्दा अधिग्रहणमा परेपछि उनले मुआब्जा लिएका थिए। अहिले आएर हदबन्दी भनेर मन्दिरलाई छाडेको जमिन मिलोमतोमा मिश्रको नाममा गरिएको छ।
यदि मिश्रले मुआब्जा पाए भने करिब ९ करोड रुपैयाँ पाउँछन्। यही ९ करोड हत्याउन मालपोतदेखि भूमाफियासम्म सक्रिए भएको देखिन्छ।
१७ वर्षअघि मात्र नेपाली नागरिकता लिएका थिए मिश्रले
भारतको गोरखपुरमा बस्दै आएका उनले २०६३ सालको टोलीबाट १७ वर्षअघि नेपाली नागरिकता लिएको खुलेको हो।
उनले सिद्धार्थनगर नगरपालिका(५ मा खटिएको टोलीबाट नागरिकताको प्रमाणपत्र लिएको उनको कागजात हेर्दा देखिन्छ। उनको नागरिकताको प्रमाणपत्रमा २०६३ फागुन ६ गते नागरिकता प्रदान गरिएको उल्लेख छ।
नागरिकता प्राप्त गरेपछि स्थानीय वरिष्ठ नारायण त्रिपाठीले पर्वतराज कान्त भारतीय नागरिक भएको भन्दै नागरिकता बदर गर्न जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका थिए। त्यो बेला भारतीय नागरिकलाई नागरिकता दिएको भन्दै स्थानीयले समेत चर्को विरोध गरेका थिए।
तर, तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले भारतमा जग्गा जमिन नभएको, मतदाता नामावलीमा नपरेको र नगरपालिकामा स्थायी बसोबास गरेको भन्दै २०६५ माघ १५ मा पर्वतराज कान्तको नागरिकता सदर गरेका थिए।
नागरिकता नेपाली पाए पनि पर्वतराज कान्त अहिले पनि भारतको गोरखपुरमा बस्दै आएका छन्। नागरिकता बनाएपछि पर्वतराज कान्तले आफ्ना बाबु जगदीश कान्त मिश्रसहित परिवारका चार जना सदस्यको एकै दिन मृत्यु भएको प्रमाणपत्र पनि लिएको पाइएको छ।
उनले सिद्धार्थनगर नगरपालिकाबाट २०६४ पुस १० मा एकै दिन चारै जनाको मृत्यु दर्ताको प्रमाणपत्र लिएका थिए।
सम्बन्धित समाचार:
असोज २७, २०८० शनिबार ११:११:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।