‘गर्भाधान नहुनु अन्य रोगजस्तै हो, उपचार गरे समाधान हुनसक्छ’
गर्भाधान नहुनु पाप होइन। न त यो मर्दपनसँग जोडिन्छ न त पूर्वजन्मको पापसँग। अन्य शारीरिक समस्या जस्तै हो समस्या हो यो पनि, जसको समाधान चिकित्सा विज्ञानबाट सम्भव छ।
प्राकृतिक रूपमा अभिभावक हुन नसकिरहेका जोडीले सन्तान चाहने हो भने विभिन्न चिकित्सकीय विधि अपनाएर सन्तान जन्माउन सकिन्छ। निःसन्तानले गर्भधारण गर्न विभिन्न चिकित्सकीय विधि छन्। जसमध्ये एक विधि हो, ‘ओभुलेशन इन्डक्शन’ विधि।
ओभुलेशन इन्डक्शन विधिमा विशेषगरी औषधिको प्रयोग गरी महिलाको डिम्बाशयबाट डिम्ब निष्कासन गराइन्छ। विशेषगरी शुक्रकीट र डिम्बको अवस्था ठिक भएका तर गर्भधारण नभएका जोडीका लागि ‘ओभुलेशन इन्डक्शन’ चिकित्सकीय विधि अपनाएर गर्भधारण गराइन्छ।
विभिन्न किसिमका रोगका कारण गर्भधारण नभएको लगायतका अवस्थामा समेत यो विधि अपनाएर गर्भधारण गराइन्छ। चिकित्सकीय भाषामा ‘अनएक्सप्लेन इनफर्टीलिटी’, ‘पोलिष्टिक ओभरियन डिजिज (पीसिओडी)’, ‘एनोभोलेटोरी इनफर्टीलिटी’ जस्ता समस्यामा ओभुलेशन इन्डक्शन विधि अपनाइन्छ।
कहिलेकाहीँ गर्भधारण गराउनका लागि ‘इन्ट्रायुटेरिन इन्सेमिनेशन (आइयुआई)’ विधि समेत अपनाइन्छ। सामान्यतया ‘ओभुलेशन इन्डक्शन’ चिकित्सकीय विधि अपनाउँदा गर्भाधारण नभएको खण्डमा आईयूआई विधि अपनाएर गर्भधारण गराइन्छ।
त्यसैगरी पुरुषको समस्याका कारण गर्भधारण नभएका र महिलाको पाठेघरको मुख सम्बन्धी समस्याजस्ता कारणले गर्भधारण नभएको खण्डमा आईयूआई विधि अपनाइन्छ। यस विधिअनुसार गर्भधारण गराउँदा निश्चित चिकित्सकीय प्रक्रिया अपनाइ सुईको माध्यमबाट पुरुषको शुक्रकीट महिलाको पाठेघरको बीच बाटोमा राखिन्छ।
यी दुवै किसिमका चिकित्सकीय विधि अपनाउँदा गर्भधारण सफल नभएको खण्डमा ‘टेस्टट्यूब बेबी’ विधि अपनाइन्छ। टेस्टट्यूब विधिमार्फत गर्भधारण गराउन सकिन्छ। टेस्टट्यूब मार्फत बच्चा जन्माउनुलाई अंग्रेजीमा ‘इन भिट्रो फर्टिलाईजेशन (आईभीएफ)’ भनिन्छ।
महिलाको पाठेघरको दुवै नली बन्द भएको खण्डमा र डिम्ब निष्काशन नै नहुने लगायतका कारणमा आईभीएफ विधि अपनाइन्छ। त्यसैगरी पुरुषको समस्याका कारण गर्भधारण नभएको खण्डमा पनि आईभीएफ विधि अपनाइन्छ। आवश्यकता अनुसार यी मध्ये विभिन्न विधि अपनाएर गर्भधारण गराउन सकिन्छ।
ललितपुरको कुपण्डोलस्थित प्यासिफिक आईभीएफ सेन्टरमा यस्ता चिकित्सकीय विधिमार्फत निःसन्तानले सन्तान लाभ गर्न सकिन्छ। महिलाको अण्डा निकालेर पुरुषको शुक्रकीट लिएर टेस्टट्युब विधिमार्फत गर्भधारणको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ।
यसरी लिइएको शुक्रकीट र अण्डा एक प्रकारको सानो डिसमा राखिन्छ। त्यसबाट ल्याबमा भ्रुण बनाइन्छ। यसरी बनाइएको भ्रुण इन्कुबेटरमा राखेर केही दिन हुर्काएपछि महिलाको पाठेघरमा भ्रण राखिन्छ। निश्चित चिकित्सकिय प्रक्रिया पूरा भएपछि महिलाले गर्भधारण गर्छिन्।
६० प्रतिशतमा गर्भधारण सफल
टेस्टट्यूब (आईभीएफ) विधिमार्फत पनि शत प्रतिशतको गर्भधारण हुन्छ र बच्चा जन्मन्छ भन्ने एकीन हुँदैन भन्ने बुझ्नुपर्छ। तर, प्राकृतिक गर्भधारणमा समस्या भइरहेका करिब ६० प्रतिशत महिलाले टेस्टट्यूब विधिमार्फत गर्भधारण गरी बच्चा जन्माउन सफल हुने तथ्य छ।
तर, दोस्रो र तेस्रो पटक फलोअप गर्दा भने करिब ९० प्रतिशतसम्ममा आईभीएफमार्फत गर्भधारण सफल हुन्छ। कतिपय महिलाले त टेस्टट्यूब विधि अपनाउँदा समेत बच्चा जन्माउने रहर पूरा गर्न नसक्ने अवस्था हुन्छ। मानवीय स्वभाव हो यस्तो अवस्थामा दुःख त लाग्छ नै।
बच्चा नहुँदा विशेषगरी अधिकांश महिला नै बढी तनावमा परेको पाइन्छ। तर, प्राकृतिक रूपमा गर्भधारण नभए कृतिम रूपमा गर्भाधारण गरेर भए पनि बच्चा जन्माउन सकिने भएकाले आत्तिनु भने हुँदैन।
आईभीएफ विधि पनि झट्ट सुन्दा कृतिम गर्भाधारणको विधि भन्ने बुझिन्छ। तर, आमाको गर्भमा नै गर्भधारण हुने भएको आईभीएफ विधि पनि प्राकृतिक जस्तै नै हुन्छ। यस्तो विधिमार्फत गर्भधारण गर्नका लागि व्यक्ति शारीरिक तथा मानसिक र आर्थिक रूपमा तयार हुनका लागि भने परामर्श आवश्यक हुन्छ।
गर्भधारण नहुनुमा दुवैको कमजोरी
नेपालमा महिलाका कारण बच्चा नभएको हो भन्ने गलत धारणा देखिन्छ। तर, पुरुषका कारणले समेत निःसन्तानको समस्या हुन्छ भन्ने बुझ्नुपर्छ। गर्भाधारणका लागि पुरुष र महिला दुवैको स्वास्थ्य अवस्था कारक हुन्छ। पुरुषको शुक्रकीटको मात्रा, आकार, चालको कमीले समेत गर्भधारण नहुने समस्या हुन्छ।
त्यसैगरी गर्भधारणका लागि महिलाको डिम्ब निष्कासन (ओभुलेशन), भ्रुण र पुरुषको शुक्रकीट जस्ता विषयमा भरपर्छ।
त्यसैगरी धुमपान, मद्यपान, तातो घाममा काम गर्ने, तनाव तथा डिप्रेशन, अस्वस्थकर खानपान तथा जीवनशैली, विभिन्न किसिमका रोगजस्ता कारणले पुरुष निःसन्तानको समस्या बढिरहेको देखिन्छ। ढिलो विवाह गर्ने कारणले पनि बाँझोपनको समस्या देखिन्छ। त्यसैले ३० वर्षभित्रै बच्चा जन्माइसक्नु उचित हुन्छ।
प्यासिफिक आईभीएफमा निःसन्तान श्रीमान-श्रीमतीका लागि निक्कै सस्तो शुल्कको प्याकेजमा सन्तान लाभ गराउने उदेश्य लिएका छौँ। दुई लाखभन्दा कम खर्चमा यस्ता विभिन्न विधि अपनाई निःसन्तानले सन्तान जन्माउन सकिन्छ।
(प्रसूति तथा स्त्रीरोग, निःसन्तान विशेषज्ञ डा. ढकाल प्यासिफिक आईभीएफ सेन्टरमा कार्यरत छिन्।)
कात्तिक ५, २०८० आइतबार १८:५०:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।